Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

सुन्दरबजारको साना किसान कृषि सहकारी : व्यावसायिक तरकारी खेतीसंगै भैँसीपालनमा

रेडियो भोटेओडार ९ आश्विन २०७६, बिहीबार १३:१५ मा प्रकाशित ( ४ साल अघि) ६१८२५ पाठक संख्या

श्यामशितल परियार
असोज ९, लमजुङ लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले व्यावसायिक तरकारी खेतीसंगै भैँसीपालन व्यवसाय सुरु गरेको छ ।
सहकारीले सुन्दरबजार नगरपालिका–६, ठाँटीचौर खदापानीमा भाडामा लिएको झण्डै २० रोपनी जग्गामा तरकारी खेतीसंगै सुधारिएको गोठ निर्माण गरी भैँसीपालन व्यवसाय अघि बढाएको हो ।
सहकारीले २०७५ साल चैतबाट तरकारी खेती सुरु गरेको हो भने सहकारीले गएको आइतबारबाट भैँसीपालन व्यवसाय सुरु गरेको हो ।
सहकारीले एउटा ब्याउने र ३ वटा लैनो गरी चार वटा भैँसीबाट भैँसीपालन व्यवसाय सुरु गरेको हो ।


गोठ निर्माणमा ३ लाख र भैँसी खरीदमा ४ लाख गरी सुरुमा ७ लाखको लगानीमा भैँसीपालन व्यवसाय सुरु गरिएको सहकारीका प्रबन्धक दिनेशबाबु कोइरालाले जानकारी दिनुभयो ।
अहिले दैनिक ११ लिटर दूध उत्पादन भएको उहाँले बताउनुभयो । सहकारीले प्रतिलिटर १ सय १० रुपैयाँमा भैँसीको दूध बिक्री गर्दै आएको छ ।
बजारमा भैँसीको दूधको माग र मूल्य दुवै राम्रो रहनुका साथै स्थानीय उपभोक्ताको मागलाई मध्यनजर गर्दै सहकारीले तरकारीका साथमा भैँसीपालन व्यवसाय पनि सुरु गरेको उहाँले बताउनुभयो ।
‘बिस्तारै भैँसीको संख्या बढाउने लक्ष्य छ,’ उहाँले भन्नुभयो ।
सहकारीका अनुसार कृषि फर्मबाट उत्पादित कृषिजन्य उत्पादन स्थानीय बजार सुन्दरबजार, खत्रीठाँटीमै खपत हुन्छ ।

यसैगरी, उत्पादनलाई साना किसान कृषि सहकारी संस्थाको केन्द्रीय संघ काठमाडौँ र इलाका संघ पोखराले पनि बजारीकरणमा सघाउने सहकारीले बताएको छ ।
प्रबन्धक कोइरालाका अनुसार हाल ६ वटा प्लाष्टिक टनेल र २० मिटर लम्बाई र ६ मिटर चौडाइको २ वटा ‘ग्रीन हाउस’ मा गोलभेँडा उत्पादन भइरहेको छ ।
यसवर्षभित्रमै २० वटा टनेल बनाई तरकारी खेती विस्तार गर्ने सहकारीको लक्ष्य छ । अर्गानिक तरकारी उत्पादनमा जोड दिदैँ बाहिरबाट आउने तरकारी रोक्नका लागि सहकारीले तरकारी खेती सुरु गरेको हो ।


सहकारीले नै कृषि कर्म सुरु गरेमा त्यसको सिको गर्दै सहकारीमा आवद्ध किसानले कृषि कर्ममा पाइला चाल्ने सहकारीले विश्वास लिएको सहकारीकी अध्यक्ष सुकमाया गुरुङले बताउनुभयो ।


फर्मबाट ३ जनाले पूर्ण रोजगारी पाएका छन् । कृषि फर्मबाट आंशिक रुपमा केही स्थानीयले समेत रोजगारी पाएका छन् । साना किसान कृषि सहकारीमा १५ सय जना सदस्य छन् । २०५३ सालमा स्थापित सहकारीले सुन्दरबजार नगरपालिकालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ ।


FLASH NEWS