लमजुङको दोर्दी गाउँपालिकाले रेबिज रोग लाग्नबाट बच्न गाउँपालिका भरिका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने अभियान थालेको छ । रेबिज लागेका कुकुरको टोकाइबाट जिल्लामा एक बालकको मृत्यु भएपछि कुकुरलाई खोप लगाउन थालिएको हो ।
“रेविज खोप लगाऔं रेविज रोग उन्मूलन गरौँ” भन्ने नारा सहित असोज ५ गतेबाट दोर्दी गाउँपालिका पशुसेवा शाखाले गाउँपालिका भित्र रहेका कुकुर र विरालोलाई खोप लगाउन थालेको शाखाका प्रमुख विनोद प्रसाद कट्लले बताउनुभयो ।
उहाँका अनुसार अभियानका क्रममा हालसम्म ३७ कुकुर र विरालोलाई पशु चिकित्सकको रोहबरमा निशुल्क भ्याक्सिन लगाइएको हो ।
कार्यक्रममा जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको प्राविधिक सहयोग रहेका थियो । गाउँपालिकाले आ आफ्ना घरमा पालेका कुकुर र विरालोलाई भ्याक्सीन लगाएर मात्र पाल्न आग्रह गरेको छ । जिल्लाका अधिकांश स्थानमा पछिल्लो समय भुस्याहा कुकुरको बिगबिगी बढेपछि यस्तो आग्रह गरिएको हो ।
रेबिज शत प्रतिशत प्राणघातक रोग हो । नेपालमा करिब २०० बिरामीको रेबिजका कारण बर्षेनी मृत्यु हुने तथ्यांकले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनको आँकलनमा वर्षेनी ५९ हजार मानिसको मृत्यु रेबिजले गराउँछ जसमा ९ प्रतिशत कुकुरको टोकाइ पर्दछ । शंकास्पद बौलाहा जनावरको टोकाईबाट प्रभावित हुने ४० प्रतिशत ब्यक्ति १५ बर्ष मुनिका बालवालिका पर्दछन ।
रेबीज धेरै पहिले देखि चिनिएको पुराना रोगहरु मध्येको खतरनाक, डरलाग्दो, पशुबाट मानिसमा सर्ने रोग हो । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रतिवर्ष २० लाखभन्दा बढी मानिसले रेविज विरुद्धको खोप लगाउँछन् ।