आज:  | Sun, 28, Feb, 2021

वडाअध्यक्ष पदका लागि नेकपाका श्रेष्ठ, कांग्रेसका सेढाइँ सहित ५ जनाको उम्मेदवारी

रेडियो भोटेओडार २८ कार्तिक २०७६, बिहीबार ११:३७ मा प्रकाशित ( १ साल अघि) १४३८६ पाठक संख्या

श्यामशितल परियार
मंसिर १४ गते लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा वडाअध्यक्ष पदको लागि हुन गइरहेको उप–निर्वाचनमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–७, स्थित कृषि विकास शाखा, सुन्दरबजार नगरपालिकाको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार विभिन्न दल र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नवीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसबाट प्रकाश सेढाइँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


यसैगरी, राप्रपाबाट पवनराज बसौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, कृष्णबहादुर केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यस्तै, मंगोल नेशनल अर्गानाइजेसनबाट रामजी दर्जीले उम्मेदवारी दिनुभएको छ ।

नेकपाका उम्मेदवार युवा नेता नवीनकुमार श्रेष्ठले परेवाडाँडाको विकासका लागि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विकासोन्मुख परेवाडाँडाको विकास र नागरिकको हितमा आफुले काम गर्ने नेपाली कांग्रेसका उम्मेदवार युवा नेता प्रकाश सेढाइँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिका वडा नं २ बाट निर्वाचित वडाअध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि वडा नं २ को वडा अध्यक्ष पद रिक्त रहेको थियो । सोही पदको लागि लमजुङको परेवाडाँडामा उपनिर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार यस वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उप–निर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको छ । उप–निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ ।
महेन्द्र मन्दिर माविमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उक्त ठाउँमा मतदाता संख्या एक हजार दुई सय ३२ रहेका छन् । यस्तै, अर्को मतदान स्थल कान्ति मन्दिर माविमा रहेको छ । यहाँ एक हजार ६५ मतदाता रहेका छन् ।
उहाँका अनुसार कात्तिक २८ गते दिउँसो ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने निर्वाचन कार्यक्रम छ ।
कात्तिक २९ गते दिउँसो ११ बजेदेखि साँढे १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।
यस्तै, कात्तिक ३० गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


FLASH NEWS