Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङका किसानलाई अलैँची टिप्ने र सुकाउने चटारो

रेडियो भोटेओडार १६ कार्तिक २०७७, आईतवार १६:३४ मा प्रकाशित ( ३ साल अघि) ३७१९२ पाठक संख्या

श्यामशितल परियार
लमजुङका विभिन्न ठाउँका किसानहरुलाईअहिले अलैँची टिप्ने र सुकाउने चटारो छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७, छिनखोला, लुदी, दोर्दी गाउँपालिका–८, खिन्चोक, क्वहोलासोँथर गाउँपालिका–८, घाम्राङ लगायतका ठाउँका किसानहरु धमाधम अलैँची टिप्न र टिपिएका अलैँची सुकाउनमा व्यस्त रहेको नेपाल अलैँची व्यवसायकी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
‘किसानलाई अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ,’ उहाँले भन्नुभयो, ‘अलैँची बारी र अलैँची भट्टीमा अहिले किसानको दिनरात बित्ने गरेको छ ।’

उहाँका अनुसार जिल्लाका १६ सयदेखी २२ सय मिटर उचाइसम्ममा लगाईएका अलैँची पाक्न थालेसंगै किसानहरु अलैँची टिप्न जुटिरहेका हुन् ।
त्यस क्षेत्रका अलैँची उत्पादक किसानहरुले असोज मसान्तदेखी अलैँची टिप्न सुरु गर्छन् भने मंसिर पहिलो सातासम्म अलैँची टिपिसक्छन् ।

पाकेका अलैँची समय टिप्न र सुकाउन नसके अलैँचीको गुणस्तरमा ह्रास आउनुका साथै किसानलाई नोक्सानी पुग्ने अध्यक्ष तामाङले बताउनुभयो । तामाङका अनुसार सकेसम्म अलैँची टिपेको एक/दुई दिनभित्रै अलैँची भट्टीमा सुकाईसक्नुपर्छ । ‘यसो गर्न नसकिए अलैँची रंग उड्न सक्छ । अलैँचीको गुणस्तर घट्छ,’ उहाँले अघि थप्नुभयो ।

नपाकेको अलैँचीलाई भने दाना छोड्याएर केही दिन गुम्साएर राख्नुपर्छ र अलैँची भट्टीमा सुकाउनुपर्छ । टिपिएका अलैँची सुधारिएको अलैँची भट्टीमा कम्तीमा पनि १२ देखी १४ घण्टासम्म निरन्तर सुकाउनुपर्छ ।

‘टिपेपश्चात् छोड्याइएको अलैँची दाना आगोको रापअनुसार भट्टीमा सुकाउनुपर्छ,’ अलैँची उत्पादक किसान समेत रहनुभएका अजयले भन्नुभयो ।

उहाँका अनुसार जिल्लामा विभिन्न संघ÷संस्थाको सहयोगमा झण्डै ३ सयको हाराहारीमा सुधारिएको अलैँची भट्टी राखिएको छ । अलैँची भट्टी अलैँची समूहलाई दिइएको र किसानले पालैपालो अलैँची भट्टीमा अलैँची सुकाउँदै आएका छन् ।

गतवर्ष जिल्लामा २ सय मेट्रिक टन अलैँची उत्पादन भएकोमा अलैँची बिक्रीबाट १३ करोड रुपैयाँ जिल्ला भित्रिएको थियो ।
यसवर्ष अलैँची खेती थप विस्तार भएकाले उत्पादन बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

अजयका अनुसार यसवर्ष जिल्लामा १५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भइसकेको छ । जिल्लामा झण्डै २५ हजार किसानहरु यस खेतीमा लागेका छन् । ‘यसवर्ष जिल्लामा २ सय ५० मेट्रिक टन अलैँची उत्पादन हुने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो ।
जिल्लाका किसानहरुले रामसाइ, गोलसाइ, डम्बरसाइ, साउने, जिर्मले, भर्लाङ्गे जातको अलैँची लगाउँदै आएका छन् ।

 


FLASH NEWS