Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

लमजुङको अन्नपूर्ण कृषक समूहद्धारा ३० रोपनी जग्गामा आलु खेती सुरु : आय–आर्जन बढाउने उद्धेश्य

रेडियो भोटेओडार १० मंसिर २०७७, बुधबार १७:३४ मा प्रकाशित ( ३ साल अघि) २७८४७ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोलमा रहेको अन्नपूर्ण कृषक समूहले सामुहिक रुपमा आलु खेती सुरु गरेको छ ।
कृषि ज्ञान केन्द्र, लमजुङको सहयोगमा समूहले सामुहिक आलु खेती सुरु गरेको हो ।

आलु र आलुको बीउ आयात रोक्नुका साथै स्थानीयको आय–आर्जन वृद्धिका लागि सामुहिक रुपमा आलु खेती गरिएको कृषक समूहकी अध्यक्ष बिमला पौडेलले बताउनुभयो । ‘१९ जना आवद्ध समूहले ३० रोपनी जग्गामा आलु खेती सुरु गरेको हो,’ उहाँले भन्नुभयो ।

सामूहिक आलु खेती शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले जीवन निर्वाहमुखी नभई व्यवसायिक ढंगले कृषि कर्म गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सुन्दरबजार नगरपालिका हरेक दृष्टिकोणले कृषि विकासको उच्च सम्भावना बोकेको पालिका रहेको बताउँदै उहाँले कृषि कर्मलाई सम्मानजनक कर्मको रुपमा व्यवहार गरिनुपर्ने र किसानलाई सम्मान गरिनुपर्नेमा जोड दिनुभएको छ । उपलव्ध श्रोत–साधनको भरपुर उपयोग गरी कृषि उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
‘आफैले गरेको कृषि उत्पादन उपभोगका साथै उत्पादन बिक्रीबाट आम्दानी समेत गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘कृषि उत्पादनमा सबै जुट्नु आवश्यक छ ।’
व्यवसायिक कृषि कर्म गर्ने कृषि समूह तथा सहकारीलाई विभिन्न सहयोगका कार्यक्रम रहेको बताउँदै उहाँले आवश्यक प्रकृया पुरा गरी संगठित रुपमा व्यवसायिक कृषि कर्ममा अघि बढ्न किसानलाई आग्रह गर्नुभएको छ ।

कृषि ज्ञान केन्द्र, लमजुङले आलु खेती प्रवद्र्धन विशेष कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न पालिकामा गरी हिउँदे आलु खेतीका लागि छनौटमा परेका ११ वटा विभिन्न कृषक समूह र सहकारीलाई सहयोग उपलव्ध गराउने केन्द्रका प्रमुख रोहिणीराज घिमिरेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र, लमजुङका अनुसार आलु खेती प्रवद्र्धन विशेष कार्यक्रम कार्यविधि अनुसार प्रत्येक क्लस्टरमा कम्तीमा १० घरधुरी आवद्ध भएको र ३० रोपनी जग्गामा आलु खेती गरिएको हुनुपर्नेछ ।

कार्य विधि अनुसार छनौटमा परेका कृषक समूह र सहकारीले प्रति रोपनी साँढे ७ हजार रुपैयाँ अनुदान रकम पाउने केन्द्रले जनाएको छ ।
सामुहिक आलु खेती शुभारम्भ कार्यक्रममा कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, बागवानी विकास अधिकृत विरेन्द्र धिताल, सूर्यकान्त अधिकारी, बाली संरक्षण अधिकृत विजयराज पौडेल लगायत स्थानीय जनप्रतिनिधिका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


FLASH NEWS