Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

विश्वविद्यालयमा राजनीति हाबी भइराख्नु उचित होइन : उपकुलपती वास्कोटा

रेडियो भोटेओडार २८ मंसिर २०७७, आईतवार १४:५८ मा प्रकाशित ( ३ साल अघि) २१८६२ पाठक संख्या

श्यामशितल परियार
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्कोटाले विश्वविद्यालयमा राजनीति हाबी भइराख्नु उचित नहुने बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७, स्थित लमजुङ कृषि क्याम्पसमा नवनिर्मित पुस्तकालयको शनिबार उद्घाटन गर्दै उपकुलपति डा. वास्कोटाले यस्तो बताउनुभएको हो ।

‘राजनीतिक परिवर्तनका क्रममा विश्वविद्यालय विभिन्न रुपमा कहिले शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन त कहिले कर्मचारी आन्दोलनका रुपमा प्रयोग भए, गरिए । सायद त्यो बेलाको आवश्यकता थियो होला,’ उहाँले थप्नुभयो, ‘त्यो परिपूर्ति भइसक्यो । हाम्रो व्यवस्था परिवर्तन भइसक्यो । अव विश्वविद्यालायमा अब राजनीति हाबी भइराख्नु उचित होईन भन्ने लाग्छ ।’

विश्वविद्यालयले शैक्षिक रुपान्तरण, सामाजिक रुपान्तरणका क्षेत्रमा कताकता गति लिन नसकिरहेको अवस्था उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देखिएका समस्यालाई क्रमैसंग न्यूनिकरण गर्दै विश्वविद्यालयका सारा ऊर्जा शैक्षिक गुणस्तर, सामाजिक रुपान्तरण र सामाजिक सद्भावमा प्रयोग गर्न सक्यौँ भने भोलीका दिनमा यसको प्रतिफल मिठो हुन्छ जस्तो लाग्छ ।’

राज्य रुपान्तरण भएतापनि त्रिभुवन विश्वविद्यालय अहिले पनि केन्द्रीकृत अवस्थामा रहेकाले यसलाई रुपान्तरण गर्नुपर्ने अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र सम्वन्धन प्राप्त नीजि कलेजको रुपमा देशका ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयको उपस्थिति रहेको उहाँले बताउनुभयो । ‘देशको उच्च शिक्षाको लगभग ८० प्रतिशत भार अहिले पनि त्रिविले थेगिराख्नुपर्र्नेे अवस्था छ,’ उहाँले भन्नुभयो ।

बजारले माग गरेको जनशक्ति पैदा गर्नु विश्वविद्यालयको प्रमुख दायित्व रहेको उहाँले बताउनुभयो । ‘बजारले मागेको जनशक्ति उत्पादन दिन सकेनौँ भने हामीले दिएको डिग्रीको अर्थ हुँदैन । बेरोजगार युवाको जमात बढ्दै जान्छ, यसले समाजमा विकृति ल्याउँछ,’ उहाँले अघि थप्नुभयो, ‘बजारमुखी जनशक्ति उत्पादन गर्नु नै विश्वविद्यालयको प्रमुख दायित्व हो ।’

यस्तै, उहाँले त्रिविका कोर्षहरु आजसम्म परम्परागत रुपमा चलेका कार्यक्रमहरु धेरै रहेको बताउनुभयो । ‘ती सबैलाई हामीले अहिले आवश्यकता महसुस गरिएका प्रोग्राममा परिणत गर्नु छ ।’

त्रिविको २ करोड ६ लाख ५९ हजार ६ सय ८४ रुपैयाँ ९१ पैसा (भ्याटसहित)मा निर्माण भएको पुस्तकालय संचालनमा आएसंगै अब क्याम्पसमा अध्ययनरत ४ सय बढि विद्यार्थीलाई पठनपाठनमा सघाउ पुग्ने क्याम्पसका शाखा अधिकृत एवम् सूचना अधिकारी श्रीकान्त अधिकारीले बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र, त्रिविका निमित्त डीन सरोजराज मिश्र, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, लमजुङ कृषि क्याम्पस प्रमुख डा. नारायण न्यौपाने, नेपाल पुनर्निर्माण प्राधिकरणका सिनियर कार्यकारी अधिकृत प्रदीप आचार्य, प्रशासन विज्ञ जनार्दन नेपाल, सेक्सन अफिसर लेखनाथ पाखरेल लगायतको उपस्थिति रहेको थियो ।


FLASH NEWS