श्यामशितल परियार
लमजुङ–सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माध्यमिक विद्यालयका विद्यार्थीले दशैँ सुरु हुनु अघि नै रातो टिका, जमरा लगाएका छन् ।
विजया दशमी २०७६ को अवसरमा शुक्रबार विद्यालयमा आयोजित शुभकामना आदान–प्रदान तथा दशैँ विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुको हातबाट रातो टिका, जमरा लगाउनुका साथै आर्शिवाद ग्रहण गरेका हुन् ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष किर्तिनाथ सापकोटा, प्रअ यज्ञराज घिमिरे, सहायक प्रअ नवराज अधिकारी लगायत विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुले विद्यालयको कक्षा १ देखी कक्षा १२ सम्ममा अध्ययनरत झण्डै ५ सय विद्यार्थीलाई विद्यालयमै दशैँको रातो टिका, जमरा लगाउनुका साथै साथै आर्शिवाद दिएका थिए ।
कक्षा १० मा पढ्ने विद्यार्थीले कक्षामै जमरा उत्पादन गरेका थिए ।
विद्यार्थीलाई दशैँको महत्व झल्काउन, मौलिक सँस्कृति, चाडपर्वको संरक्षणमा जुट्नका साथै ठूलालाई आदर सानालाई माया गर्न सिकाउने उद्धेश्यका साथ दशैँ विशेष कार्यक्रमको अवसरमा रातो टिका, जमरा लगाउने कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक विष्णु बरालले जानकारी दिनुभयो ।
‘गएको शनिबार विद्यार्थीले जमराका लागि कक्षामा सालको पातको टपरीमा मकै छरेका थिए । विद्यार्थीले कक्षामा उत्पादन गरेको जमरा लगाएका हुन्,’ उहाँले भन्नुभयो, ‘मौलिक सँस्कृति संरक्षणको नमूना अभ्यासको रुपमा विद्यालयमै दशैँको टिका, जमरा लगाउने कार्यक्रमको आयोजना गरिएको हो ।’
विद्यालयमा शिक्षक/शिक्षिकाको हातबाट टिका, जमराका साथै शुभ आर्शिवाद लिन पाउँदा विद्यार्थी खुशी भएका थिए ।