श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–१, कुन्छामा रहेको भागिरथी सामाजिक उद्यमी महिला सहकारीले दशैँलाई लक्षित गरी खसीबोका हाटबजार संचालन गरेको छ ।
सहकारीले आइतबार आफ्नै भवनमा संचालन गरेको खसीबोका हाटबजारमा सहकारीका सदस्यहरुले उत्पादन गरेका खसीबोका बिक्रीका लागि ल्याएका थिए ।
किसानले गाउँमै उत्पादन गरेका कृषि उपजले गाउँमै उचित मूल्य र बजार पाओस् भन्ने उद्धेश्यका साथ खसीबोका हाटबजार संचालन गरिएको सहकारीकी संस्थापक अध्यक्ष एवम् खसीबोका हाटबजार संचालक समितिका संयोजक सन्तोषी गौलीले बताउनुभयो ।
हाटबजार संचालनले किसानसंगै उपभोक्तालाई पनि फाइदा मिलेको उहाँ बताउनुहुन्छ ।
सहकारीले विगत ४ वर्षदेखी दशैँको अवसरमा खसीबोका हाटबजार संचालन गर्दै आएको छ ।
खसीबोका हाटबजारले उपभोक्तालाई स्थानीय स्तरमा उत्पादित स्वच्छ खसीबोकाको मासु खान पाउने वातावरण सिर्जना गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।
सहकारीले २० केजी तौलसम्मका खसीबोकाको मूल्य प्रतिकेजी ४ सय, २० केजी देखी २४.९ केजीसम्म ४ सय ५०, २५ केजीदेखी ३५ केजीसम्म ४ सय ७५ र ३५ केजी भन्दा बढि तौल भएका खसीबोकाको मूल्य प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरेको थियो ।