आज:  | Tue, 26, Oct, 2021

लमजुङको दोर्दी गाउँपालिकामा रष्ट्रिक स्टोर बन्ने

रेडियो भोटेओडार २५ मंसिर २०७६, बुधबार १९:१४ मा प्रकाशित ( १ साल अघि) २८९३९ पाठक संख्या

विमला अधिकारी –
लमजुङको दोर्दी गाउँपालिका ८, पुरानो दुवारमा आलुको विउ उत्पादन केन्द्र रष्ट्रिक स्टोर निर्माण हुने भएको छ ।
दोर्दी गाउँपालिकाले राष्ट्रिय अनुसन्धान बाल विकास केन्द्र खुमलटार ललितपुरको समन्वय र लुम्ले कृषि केन्द्रको सहयोगमा रष्ट्रिक स्टोर निर्माण गर्न लागेको हो । करीब ३० लाख रुपैयाँ लगानीमा रष्ट्रिक स्टोर चालु आर्थिक बर्षमा निर्माण हुने भएको छ । समुद्री सतहदेखि करीब २ हजार मिटर उचाईमा ४० मेट्रिकटन क्षमताको रष्ट्रिक स्टोर निर्माण गर्न लागिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाइँले बताउनुभयो ।

दोर्दी गाउँपालिका र सिङ्गो लमजुङ जिल्लाका लागि आवश्यक पर्ने आलुको वीउ उत्पादन गर्ने लक्ष्यका साथ रष्ट्रिक स्टोर निर्माण गर्न लागिएको दोर्दी गाउँपालिकाको कृषि शाखाले बताएको छ । पुरानो दुवारलाई गाउँपालिकाकाले आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप गाउँपालिकाले कार्यक्रम समेत गर्दै आएको छ । रष्ट्रिक स्टोरका लागि यो वर्ष कृषि शाखाले ३ टन र खुमलटारले ३ टन गरी ६ टन आलुको वीउ निःशुल्क उपलब्ध गराएर प्राविधिककै निगरानीमा लगाइने भएको कृषि शाखा प्रमुख सेढाइँले बताउनुभयो ।

आलु पकेट क्षेत्र बनाउन पुरानो दुवारमा कृषकका समूह गठन भइसकेको कृषि शाखाले जनाएको छ । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि पुरानो दुवार क्षेत्रलाई आलु खेतीका लागि राम्रो ठाउँ मानिएको छ । यसअघि पनि स्थानीयले पुरानो दुवार क्षेत्रमा आलु खेती गर्दै आएका थिए । अहिले आलु पकेटका लागि कार्डिनल, डिजिरे लगायतका मुल बीउका साथै परिक्षणका लागि आलुबाली अनुसन्धान कार्यक्रमबाट अन्य बीउ ल्याएर परीक्षण गरिने तयारी गरिएको छ ।


FLASH NEWS