आज:  | Tue, 26, Oct, 2021

दुवारगाउँलाई नमूना कृषि गाउँको रुपमा अघि बढाउन जुट्दै स्थानीय महिला

रेडियो भोटेओडार २४ पुष २०७६, बिहीबार ०७:०८ मा प्रकाशित ( १ साल अघि) २५३६९ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका–८, दुवार गाउँलाई ‘नमूना कृषि गाउँ’को रुपमा अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत दुवार गाउँलाई ‘नमूना कृषि गाउँ’को रुपमा अघि बढाइएको हो । स्थानीय मिलिजुली महिला पशुपालन तथा कृषि सहकारीको सक्रियतामा दुवारगाउँलाई नमूना कृषि गाउँको रपमा अघि बढाइदैँ लगिएको छ ।
दुवारमा ‘नमूना कृषि गाउँ स्थापना’का लागि आर्थिक वर्ष २०७५÷०७६ मा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले २५ लाख ९ हजार २ सय रुपैयाँ अनुदान सहयोग गरेको थियो ।
‘नमूना गाउँ कृषि स्थापना’का लागि प्रदेश सरकारको सहयोगसंगै स्थानीय उपभोक्ताको १० लाख २८ हजार ८ सय ८० रुपैयाँ ६ पैसा गरी कुल ३५ लाख ३८ हजार ८० रुपैयाँ ६ पैसा खर्च भएको छ ।
सो रकमबाट स्थानीयले पशुपालनतर्फ बाख्राको खोर निर्माण, गाइँभैँसीको भकारो सुधार, भेँडाको गोठ निर्माण, सुँगुर खोर निर्माण, ब्याड बोका खरिद, कृषितर्फ तरकारी टनेल निर्माण, मौरीपालन, थोपा सिँचाई सेट, पानी संकलन पोखरी, तालिम, सरसफाइ, नमूना सूचना बोर्ड निर्माण, विविधिका साथै कन्टिजेन्सी कट्टी सहित गरी ३५ लाख ३८ हजार ८० रुपैयाँ ६ पैसा खर्च भएको मिलिजुली महिला पशुपालन तथा कृषि सहकारी संस्थाकी अध्यक्ष लालमाया मिजारले बताउनुभयो ।
नमूना कृषि गाउँ स्थापना गरिएसंगै स्थानीयको आयस्तर वृद्धि हुनुका साथै जीवनस्तर पनि उकासिदैँ गएको उहाँले बताउनुभयो ।
‘विगतमा स्थानीयले खासै व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरेका थिएनन् । आम्दानीको श्रोत थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले स्थानीयहरु व्यवसायिक तरकारी खेतीका साथै व्यवसायिक पशुपालनमा लागेका छन् । आम्दानी गरेका छन् । स्थानीयको जीवनस्तर उकासिदैँ गएको छ ।’
‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत सुरुमा दुवारका झण्डै ७० जना स्थानीयलाई कृषि तथा पशुपालनका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘कृषि तथा पशुपालन गर्न इच्छुक, आर्थिक अवस्था कमजोर भएका, व्यवसायिक कृषि कर्म गरिरहेकाहरुलाई प्राथमकितामा राखी सहयोग गरेका हौँ,’ उहाँले भन्नुभयो ।
यसैगरी, स्थानीयलाई कृषि तथा पशुपालनका लागि सहकारीले स्थापनाकाल देखी नै सघाउँदै आएको छ । सहकारीमा दोर्दी गाउँपालिका–८ का झण्डै ४ सय ३० महिला आवद्ध छन् ।
सहकारीमा दुवार गाउँको मात्रै १ सय ५० जना महिला सदस्य छन् । गाउँलाई नमूना कृषि गाउँको रुपमा स्थापित गर्न, कृषि र पशुपालनको माध्यमबाट स्थानीयको आयस्तर उकास्न दुवार गाउँका महिलाहरु जुटेका छन् ।
२०६८ सालमा दर्ता भई संचालनमा आएको यस सहकारीमा आवद्ध सदस्यले मासिक एक सय रुपैयाँ वचत गर्छन् । संकलित पैसा कृषि र पशुपालनको क्षेत्रमा लगानी गर्छन् ।
अध्यक्ष मिजारका अनुसार सहकारीले अहिले वार्षिक झण्डै १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै आएको छ । विभिन्न १० वटा समिति बनाई सहकारीले काम गर्दै आएको छ ।


FLASH NEWS