लमजुङको दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङमा राहत वितरण गरिएको छ । ‘श्रीमन्ज्याङ युके समाज’को सहयोगमा श्रीमन्ज्याङका विपन्न, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको हो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले शुक्रबार श्रीमन्ज्याङमा रहेका ८५ घरधुरीलाई राहत वितरण गर्नुभएको हो । प्रति घरधुरीलाई एक बोरा चामलका साथै तेल, नून र साबुन वितरण गरिएको हो ।
विदेशमा रहेर पनि गाउँठाउँमा रहेका विपन्न वर्गका व्यक्तिलाई राहत वितरणका लागि सहयोग रकम पठाएकोमा ‘श्रीमन्ज्याङ युके समाज’लाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ ।
‘कोरोना भाइरस’ले निम्त्याएको संकटको समयमा विपन्न वर्गलाई केही राहत पुगोस् भनेर श्रीमन्ज्याङ युके समाजले राहत वितरणका लागि आर्थिक सहयोग रकम संकलन गरी पठाएको दोर्दी गाउँपालिका–३, का वडाअध्यक्ष इन्द्रजीत गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार जीतबहादुर गुरुङको पहलमा ‘श्रीमन्ज्याङ युके समाज’ले राहत वितरणका लागि १ लाख ४१ हजार २ सय ५ रुपैयाँ सहयोग रकम पठाएको हो ।
राहत पाउँदा स्थानीय खुशी भएका छन् । माझा ह्युँला चलेवा समूह श्रीमन्ज्याङका अध्यक्ष सुरेन्द्रदेव गुरुङको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा माझा ह्युँला चलेवा समूहका सल्लाहकार सोमबहादुर गुरुङ, स्याँगे गुम्वा व्यवस्थापन समितिका अध्यक्ष ठाकुरराज गुरुङ, श्रीमन्ज्याङ युवा क्लवका अध्यक्ष तिलक गुरुङ, मौलाकोट युवा क्लवका अध्यक्ष प्रकाश गुरुङ, उद्धार आमा समूहका सचिव डम्वरकुमारी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।