आज:  | Sat, 30, Sep, 2023

लमजुङमा चाडपर्व लक्षित विशेष सुरक्षा : ३ सय ३२ प्रहरी परिचालित

रेडियो भोटेओडार २३ आश्विन २०७७, शुक्रबार १७:२९ मा प्रकाशित ( २ साल अघि) १९७८३ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय, लमजुङले नजिकिदै गरेको चाडपर्व (दशैँ, तिहार, छठ)लाई लक्षित गर्दै विशेष सुरक्षा योजना–२०७७ तयार गरेको छ ।  बिहीबार पत्रकार भेटघाटमार्फत जिल्ला प्रहरी कार्यालय, लमजुङले यसबारे जानकारी गराएको हो ।

चाडपर्वको बेला हुनसक्ने चोरी, लुटपाटजस्ता अपराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी जिल्लामा बिहीबारदेखि नै लागू गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

‘महान पर्व दशैँ, तिहार, छठ पर्व नजिकिँदै छ । कोभिड–१९ को सङ्क्रमण पनि बढ्दो छ । चाडपर्वको बेला झनै भीडभाड बढ्न सक्छ,’ डीएसपी थापाले भन्नुभयो, ‘यसका साथै चाडपर्वको बेला हुनसक्ने चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि जिल्लामा विशेष सुरक्षा योजना तयारी गरी लागू गरिएको छ ।’

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय, लमजुङले विशेष सुरक्षा योजनाअन्तर्गत मोबाइल गस्ती, राजमार्ग सुरक्षा/अनुगमन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, चेक प्वाइन्ट, सूचना संकलन (सादा पोषाक), यात्रु सहायता कक्ष, समन्वय टिम लगायतका कार्य गर्नेछ ।

विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लामा ३ सय ३२ प्रहरी परिचालित भएका छन् । यो सुरक्षा योजना लागू भइन्जेलसम्म जिल्लामा प्रहरीले १८ घण्टासम्म डिउटी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

‘जिल्लामा कार्यरत सबै प्रहरी परिचालित छन् । यो योजना लागू भइन्जेलसम्म प्रहरीले १८ घण्टासम्म डिउटी गर्नुपर्ने अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो ।


FLASH NEWS