लमजुङको सुन्दरबजार नगरपालिका–८, मा रहेको उपल्लो बलिथुमका घर–घरमा खानेपानी पुर्याइएको छ । वर्षौदेखी खानेपानीको समस्या रहेको उपल्लो बलिथुममा रहेका ५३ घरधुरीका साथै कटहरबोटेका ५ घरधुरी गरी ५८ घरधुरीलाई शुक्रबारबाट मिटर प्रणालीमा पानी वितरण गरिएको सुन्दरबजार नगरपालिका वडा नं–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुन्दरबजार नगरपालिका–८, जिमित्रे खोला शिरानचोकमा रहेको तल्लो विरशवाँराबाट पानी पाईपमा ल्याई उपल्लो बलिथुमको कोलाडाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको पानी ट्यांकीमा पानी संकलन गरिएको छ ।
वडाको पहल, सुन्दरबजार नगरपालिकाको समन्वय र गण्डकी प्रदेश सरकारको ५९ लाख ८ सय ९५ रुपैयाँ, च्वाईस नेपालको १० लाख रुपैयाँ र मस्र्याङ्दी करिडोरको २ सय २० केभीको ५ लाख गरी झण्डै ७५ लाखको लागतमा आवश्यक संरचना निर्माण गरी मिटर प्रणालीमा पानी वितरण गरिएको उहाँले बताउनुभयो ।
घर–घरमा पानी आएसंगै स्थानीयमा खुशी छाएको छ । पानीको सुविधा भएसंगै अब स्थानीयलाई सहज हुनुका साथै उपल्लो बलिथुमबाट अन्यत्र बसाइँ सरेर जानेको संख्यामा कमी आउने उहाँले बताउनुभयो ।