आज:  | Sat, 30, Sep, 2023

लमजुङ भारतेका प्रेम अधिकारी व्यवसायिक मौरीपालनमा

रेडियो भोटेओडार १७ कार्तिक २०७७, सोमबार ११:११ मा प्रकाशित ( २ साल अघि) ३३५१७ पाठक संख्या

श्यामशितल परियार
झण्डै दुई दशक भारतमा जागिरे जीवन बिताउनुभयो, उहाँले । कमाइ राम्रै थियो । परदेशको कमाइले सजिलै घरखर्च पनि चलेकै थियो ।
परदेशको कमाइले घर–परिवारको गर्जो टार्न सजिलो भएतापनि परदेशमा उहाँलाई घर–परिवारको अभाव पलपलमा खट्किन्थ्यो । परदेशमा जागिरे रहँदै ‘आफ्नै गाउँको पाखा–पखेरीमै गएर केही गर्नुपर्छ’ भन्ने सोच पलाएको थियो, उहाँमा ।

त्यही सोँच मनमा साँचेर १८ वर्ष लामो भारत बसाइ छाडेर आफ्नै गाउँ दोर्दी गाउँपालिका १, भारते लामिश्वाँरा फकर्नुभयो, प्रेम अधिकारी ।
‘१८ वर्षसम्म भारतमा काम गरियो । कमाइ राम्रै थियो । तर घरपरिवारको न्यास्रो लाग्ने । परदेशमा मात्रै कत्ति श्रम–पसिना बगाउनु ?,’ उहाँले भन्नुभयो, ‘त्यसैले गाउँको पाखोमा केही उद्यम गर्ने सोचका साथ गाउँ फर्किएँ ।’

गाउँ फिर्ता भएपछि उहाँ विभिन्न समयमा कृषि तथा पशुपालनसम्बन्धी तालिममा सहभागी हुँदै जानुभयो । तालिम लिदैँ जाने क्रममा मौरीपालन व्यवसायप्रति उहाँको मन तानियो । २०७० सालमा भारतबाट फर्कनभुएका अधिकारीले २०७२ सालदेखी मौरीपालन व्यवसायमा पाइला चाल्नुभयो ।

सुरुमा १० हजारको लगानीमा एक मौरीघारबाट मौरीपालन व्यवसायमा होमिनुभएका उहाँले अहिले मौरीपालन व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ । मौरीपालन कम समय, श्रम र लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसाय रहेकाले आफु मौरीपालनमा लागेको उहाँले बताउनुभयो ।

‘सुरुमा एक मौरी घारबाट मौरीपालन सुरु गरेको हुँ । अहिले मौरीपालन व्यवसाय राम्रो भइरहेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले संचालन गर्नुभएको ‘रुपा मोडल मौरी फर्म’मा अहिले ४० घारमा मौरी पालिएको छ ।
फर्मबाट यही वर्षको मंसिरसम्म २ सय केजी मह उत्पादन गर्ने उहाँको लक्ष्य छ । उहाँका अनुसार फर्ममा उत्पादित महले उचित बजार र मूल्य पाएको छ । उत्पादित मह पोखरा, विरगन्जसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।
‘उत्पादनले बजार नपाउँला भन्ने चिन्ता नै छैन । उत्पादनले उचित बजार र बजार भाउ पाएको छ । बजारमा महको माग बढ्दो छ,’ उहाँले भन्नुभयो ।
उहाँले प्रतिकेजी ८ सय रुपैयाँमा मह बिक्री गर्दै आउनुभएको छ । गतवर्ष मात्रै फर्मबाट ५० केजी मह र मौरीसहितका १० घार बिक्री भएको थियो ।
‘गतवर्ष फर्मबाट ४० हजारको मह र ८५ हजारको मौरी घार बिक्री भएको थियो,’ मौरीपालक किसान अधिकारीले भन्नुभयो ।

आउँदो वर्षको जेठसम्म एक सय मौरी घार पुर्याउने र मौरीसहितको ५० घार बिक्री गर्ने उहाँको योजना रहेको छ ।  ‘जेठसम्म फर्मबाटै उत्पादति मौरीबाट एक सय मौरी घार विस्तार गर्ने लक्ष्य छ, उहाँले थप्नुभयो, ‘५० घारमा आफुले मौरी पाल्ने र मौरीसहितको ५० घार बिक्री गर्ने योजना छ ।’

महका बिक्रीका साथै मौरीसहितको घार बिक्रीबाट पनि राम्रो कमाइ हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार मौरीसहितको प्रति घार ९ देखी १० हजारसम्म बिक्री हुने गर्दछ । फर्मबाट उत्पादित मह, मौरी घार स्थानीय गाउँघरमै खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।
मौरीपालनमा घर–परिवारको पनि उत्तिक्कै साथ मिल्दै आएको छ, उहाँलाई ।

बिस्तारै मौरीपालन व्यवसायलाई विस्तार गर्दै निरन्तर रुपमा यसै व्यवसायमा लागिरहने उहाँको योजना रहेको छ । मौरीपालन व्यवसायमा सम्बन्धित निकायबाट पनि उहाँले सहयोग पाउँदै आउनुभएको छ । गतवर्ष कृषि ज्ञान केन्द्र, लमजुङबाट २ लाख ५० हजार रुपैयाँ अनुदान पाएको उहाँले बताउनुभयो ।

 


FLASH NEWS