आज:  | Tue, 26, Oct, 2021

लमजुङका घुम्ती गोठ पुगे हिमालको काखैमा !

रेडियो भोटेओडार २८ जेष्ठ २०७८, शुक्रबार १८:१२ मा प्रकाशित ( ४ महिना अघि) १०१४४ पाठक संख्या

श्यामशितल परियार
घुम्ती गोठमा पशुपालन गर्ने परम्परा अझै कायमै छ, लमजुङमा । यहाँका ग्रामीण क्षेत्रका किसानहरुले वर्षौदेखी घुम्ती गोठमा गाईभैँसी, भेडाबाख्रा पाल्दै आएका छन् ।
विशेषगरी : जिल्लाको दोर्दी गाउँपालिका, क्वहोलासोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिका क्षेत्रका विभिन्न गाउँठाउँका किसानहरुले परम्परागत घुम्ती गोठमा पशुपालन गर्दै आएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
विज्ञ केन्द्रका अनुसार लमजुङमा ३ सय हाराहारीमा घुम्तीगोठ रहेका छन् । लमजुङमा १ सय हाराहारीमा घुम्तीगोठमा गाईभैँसी पालिएका छन् भने २ सय घुम्ती गोठमा भेडाबाख्रा पालिएका छन् ।
घुम्तीगोठमा पालिएका भेडाबाख्रा, गाईभैँसी चराउनका लागि गोठालाहरु बर्सेनी लेकबेसी गरिरहन्छन् ।
अहिले लमजुङमा रहेका घुम्ती गोठहरु हिमालको काखैमा पुगिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
‘घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका गोठालाहरु अहिले हिमालको काखैसम्म पुगिसकेका छन्,’ उहाँले भन्नुभयो ।
यहाँका घुम्ती भेडीगोठहरु अहिले बौद्ध हिमाल, माछापुच्छ्रे« हिमाल, मनास्लु हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमालको काखैमा पुगिसकेका डा. श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार घुम्ती गोठमा पालिएका पशुहरु चराउँदै गोठालाहरु ठुलाकी याक खर्क, गैरी खर्क, पतीपुरे खर्क, थुर्चु खर्क लगायतका खर्कमा पुगिसकेका छन् ।
‘घुम्ती भेडीगोठहरु ४ हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने ३ हजार मिटर उचाइसम्म मात्रै पुग्छन्,’ उहाँले भन्नुभयो ।
डा. श्रेष्ठका अनुसार चैत लागेसंगै बेसीबाट उकालो लागेका घुम्ती गोठहरु वैशाख मसान्तसम्ममा हिमालको काखैमा (माथिल्लो क्षेत्रमा रहेका खर्कहरु)मा पुगिसक्छन् । हिमालको काखैमा पुगिसकेका घुम्तीगोठहरु जेठ, असार र साउन महिना गरी ३ महिना यतै रहन्छन् ।
यस समयमा माथिल्लो क्षेत्रमा रहेका खर्क (घाँसे मैदान)मा पर्याप्त पोषिलो घाँस हुने भएकाले पशु चरनका लागि घुम्तीगोठहरु हिमालको काखैसम्म पुग्छन् ।
हिमालको काखैमा रहेका घुम्तीगोठहरु भदौको मध्यदेखी बिस्तारै बेसी झर्न सुरु गर्छन् । कार्तिकसम्म सबै घुम्तीगोठहरु बेसी झरिसक्छन् । मंसिर, पुस, माघ, फागुन महिनाभर प्राय ः घुम्ती गोठहरु बेसीमै रहन्छन् ।
तापक्रम, घाँसको उपलब्धतासंगै घुम्ती गोठहरु बर्सेनी लेक बेसी गरिरहने उहाँ बताउनुहुन्छ ।‘गर्मी बढेसंगै घुम्तीगोठहरु उकाले चढ्छन् । चिसो बढेसंगै गोठहरु बेसी झर्छन्,’ उहाँले बताउनुभयो ।
यस व्यवसायबाट मनग्य कमाउन सकिने तर दुःख ज्यादा हुने भएकाले पनि यस व्यवसायमा आकर्षण घट्दो रहेको विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठ बताउनुहुन्छ ।
‘आम्दानी राम्रै छ । तर दुःख ज्यादा हुने भएकाले घुम्तीगोठमा कामदार र गोठालाको अभाव छ । त्यसैले पनि परम्परागत घुम्ती गोठ घट्दै छ,’ उहाँले भन्नुभयो ।
यसका साथै उलेख्य संख्यामा युवाहरु विदेशिएका कारण पनि पछिल्लो समय परम्परागत घुम्ती गोठमा पशुपालन गर्ने परम्परा हराउँदै गएको छ । यस व्यवसायमा संकटमा पर्दै गएको छ ।
हराउँदै गएको घुम्ती गोठ संरक्षणका साथै पशु अनुवांशिक श्रोत संरक्षणका लागि विज्ञ केन्द्रले वर्सेनी घुम्ती गोठ संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।
यसवर्ष विज्ञ केन्द्रले दूधपोखरी गाउँपालिका–५ कोल्कीस्थित गैरीखर्क देउराली पेटखर्क घुम्ती भेडापालन समूह र दोर्दी गाउँपालिका–५ पाचोकस्थित गुरुङ परम्परागत सामुदायिक घुम्ती भेडाबाख्रा पालन समूहमार्फत त्यस क्षेत्रमा चरन खर्क सुधार कार्यक्रम संचालन गरेको छ ।
यी दुई समहूलाई प्रति समूह ५÷५ लाख रुपैयाँ प्रदान गरिएको र यस रकमबाट खर्कमा ‘सेतो क्लोवर’ जातको घाँस छर्ने, सिँचाइको लागि पाईपको व्यवस्थाका साथै काठेपुल निर्माण गरिएको डा. श्रेष्ठले बताउनुभयो ।
यसैगरी, विज्ञ केन्द्रले यसैवर्ष जिल्लाका विभिन्न ४ वटा घुम्ती गोठहरुलाई घुम्ती गोठ संरक्षण कार्यक्रमअन्तर्गत वजेट विनियोजन गरेको छ ।
क्वहोलासोँथर गाउँपालिका–५ सिङ्दीमा रहेको एकीकृत भैँसीपालन समूह, दोर्दी गाउँपालिका–५ पाचोकमा रहेको घले सामुदायिक कृषक समूह, मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा रहेका ठुलाकी याक खर्क कृषक समूह र मस्र्याङ्दी गाउँपालिका–१ नायुँको घनपोखरा घुम्तीगोठ कृषक समूहलाई घुम्ती गोठ संरक्षण कार्यक्रमबाट प्रति समूहलाई ५÷५ लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘परम्परागत घुम्ती गोठ बढाउन सक्दो पहल गरिएको छ । भएका घुम्ती गोठ संरक्षणका साथै पशु अनुवांशिक श्रोत संरक्षणका क्षेत्रमा विज्ञ केन्द्रले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ,’ विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।


FLASH NEWS