रुद्र ढकाल
गण्डकी प्रदेश सरकारकी मन्त्री मधुमाया अधिकारीले लमजुङको दोर्दी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री अधिकारी सहितको एक टोलीले बिहिबार बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । वर्षासंगै आएको बाढीले विस्थापित भएकाहरुसंग प्रत्यक्ष भेटेर उहाँले विस्थापितको पुनस्र्थापनाका लागि स्थानीय सरकारसंगको समन्वयमा प्रदेश सकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
यस्तै, उहाँ सहितको टोलीले बाढीबाट विस्थापित भएका १८ घरधुृरीलाई राहतस्वरुप जस्तापाता लगायतका सामग्री समेत वितरण गरेको छ ।
मन्त्री अधिकारीसंगै अनुगमन तथा राहत वितरण कार्यमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेल, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, नेपाल पत्रकार महासंघ, लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
वर्षासंगै आएको बाढीले दोर्दी गाउँपालिका क्षेत्रका १८ घरधुरी बगाएको थियो ।
यस क्षेत्रका बाढीबाट विस्थापित भएका तथा जोखिममा रहेकाहरुलाई गाउँपालिकाले पनि विभिन्न संघसंस्थासंगको समन्वयमा राहत वितरण गरेको छ ।