श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिकाले दोर्दी खोलामा बाँध लगाउने भएको छ । गाउँपालिकाले बाढी प्रभावित क्षेत्र दोर्दी गाउँपालिका–८, हिलेबजारस्थित दोर्दी खोलामा बाढी नियन्त्रणका लागि बाँध निर्माण गर्ने भएको हो ।
दोर्दी गाउँपालिका, कार्यपालिकाको शनिबारको बैठकले बाढी प्रभावित र बाढीको जोखिम रहेको हिलेबजारस्थित दोर्दी खोलामा तत्कालै बाँध निर्माण गर्ने निर्णय गरेको दोर्दी गाउँपालिकाका प्रशासन प्रमुख रुकमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि गाउँपालिकाले ‘प्रकोप व्यवस्थापन कोष’बाट ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, बाढीका कारण विशेषगरी : दोर्दी गाउँपालिका वडा नं ६, ७ र ८ मा रहेका विभिन्न सडकखण्ड अवरुद्ध भएकाले त्यस सडक खुलाउनका लागि पनि बैठकले ५ लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।
‘बाँध निर्माण र अवरुद्ध सडक खुलाउन वजेट विनियोजन भइसकेको छ । आवश्यक प्रकृया पुरा गरी तत्कालै काम अघि बढाइने छ,’ उहाँले भन्नुभयो ।
सबैको सहयोग र समन्वयमा दोर्दीका बाढी विस्थापित र जोखिममा रहेकालाई छिट्टै नै सुरक्षित स्थानमा टहरा बनाई स्थानान्तरण गरिने गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी दिनुभयो ।
यस क्षेत्रमा बाढीले जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको थियो । दोर्दी खोलामा आएको बाढीले गएको मंगलबार हिलेबजारका एक सामुदायिक भवनसहित १५ घर र दोर्दी जलविद्युत आयोजनाको ड्याम साइट नजिकै रहेका ३ घर बगाएको थियो ।