श्यामशितल परियार
राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको राइनास नगरपालिका क्षेत्रमा पर्ने १० किमी सडक दायाँबायाँ विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्न सुरु गरिएको छ ।
सरकारी तथा नीजि साँझेदारीमा सडक दायाँ-बायाँ एभोकाडो, लिची, रुख कटहर लगायतका विभिन्न फलफूलका विरुवा रोपन सुरु गरिएको हो ।
गएको जेठ १२ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास क्षेत्रमा पर्ने सडक दायाँबायाँ फलफूलका विरुवा रोपन सुरु गरिएको र हालसम्म ४ सय बिरुवा रोपि सकिएको मध्यपहाडी लोकमार्ग फलफूल रोपन उपभोक्ता समितिका अध्यक्ष विश्वराज कडारियाले जानकारी दिनुभयो ।
यही असार मसान्तसम्म पाउँदी–बांगेचौर देखी चेपे पुलसम्म २५ सय बिरुवा रोपि सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । ‘सडक दायाँबायाँ फलफूलका बिरुवा अभियान रोपन सुरु भइसकेको छ । असार मसान्तसम्मा यस क्षेत्रमा २५ सय बिरुवा रोपिसक्ने लक्ष्य छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सडक छेउबाट २ मिटर पर ६ मिटरको दूरीमा फलफूलका बिरुवा रोपिएको छ । स्थानीय नर्सरीमा उत्पादित फलफूलका बिरुवा खरिद गरी रोपिएको छ ।
रोपिएको बिरुवालाई तारजाली लगाई संरक्षण गरिएको छ । ‘रोपिएको बिरुवाको संरक्षण सम्वन्धित स्थानीय (जग्गाधी)ले नै गर्छन् । उत्पादन सुरु भएपछि उनीहरुले नै उपयोग गर्न पाउने छन्,’ अध्यक्ष कडारियाले बताउनुभयो ।
हरियाली वातावरण तथा सौन्दर्यताको विकास गर्नुका साथै फलफूल बिक्रीबाट स्थानीय स्तरमा आर्थिक क्रियाकलापमा वृद्धि गर्न लोकमार्ग सडक क्षेत्रमा फलफूलका विरुवा रोपन गरिएको राइनास नगरपालिकाका सहजकर्ता एवं वरिष्ठ वागवानी विज्ञ चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत नगरक्षेत्रका सडकमा फलफूलका बिरुवा रोपनका लागि नगरपालिकाले यसैवर्ष १६ लाख रुपैयाँ विनियोजन गरेको राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले बताउनुभयो ।
पूर्व सीमाना पाँचथरको चियोभन्ज्याङदेखी सुरु भई पश्चिम बैतडीको भारत सीमाना झुलाघाटसम्म जोड्ने मध्यपहाडी लोकमार्गको कूल लम्बाई १ हजार ७ सय ६५ किलोमिटर छ ।