नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री देव गुरुङले बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ ।
उहाँले बाढी प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजार क्षेत्रको अनुगमन गर्नुभएको हो ।
बाढीबाट विभिन्न ठाउँमा क्षति पुगेकाले विस्थापितहरुको पुनस्र्थापनाका लागि बृहत योजना बनाइ अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
‘बाढी–पहिरो जोखिममा रहेका बस्तीको संरक्षणका साथै विस्थापितहरुको पुनस्र्थापनाका लागि बृहत योजना बनाई अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ,’ उहाँले भन्नुभयो ।
यसैगरी, उहाँले तमु समाज केन्ट युकेको सहयोगमा प्राप्त विभिन्न राहत सामग्री पनि हिलेबजारका बाढी विस्थापितहरुलाई वितरण गर्नुभएको छ ।
राहत वितरण कार्यमा संविधान सभा सदस्य लालबहादुर तमु, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले, तमु समाज केन्ट युकेका कोअर्डिनेटर पवित्रा गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।
वडाअध्यक्ष तुलबहादुर घलेका अनुसार हिलेबजारमा १ सय १४ घरधुरी रहेका छन् । बाढीले यस हिलेबजारका २० घरका साथै एक सामुदायिक भवन समेत बगाएको छ । बाँकी ५५ घर उच्च जोखिममा रहेका छन् ।
दोर्दीखोलामा विगतमा सानो–तिनो बाढी आउने गरेको तर यसवर्ष असारको सुरुवातीमै ठूलो बाढी आई निकै भौतिक क्षति पुर्याएको उहाँका अनुसार हिलेबजारका बाढीबाट विस्थापित भएकाहरु अहिले फलेनी माविको भवनमा बसेका छन् । विस्थापित र बाढीको जोखिममा रहेका अन्य स्थानीय माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन् ।