आज:  | Sat, 30, Sep, 2023

लमजुङको हिलेबजार : बाढीले बनाइदियो बगर !

रेडियो भोटेओडार १४ असार २०७८, सोमबार १५:२९ मा प्रकाशित ( २ साल अघि) २६६२९ पाठक संख्या

श्यामशितल परियार
दुवै तिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लमजुङको सुन्दर हिलेबजार । दोर्दी गाउँपालिका–८, मा रहेको हिलेबजार व्यापारिक केन्द्र पनि हो ।
दारिमबोट, लप्सीबोट, फलेनी लगायतका थुप्रै ग्रामीण क्षेत्रका नागरिक किनमेलका लागि हिलेबजारसम्म आउँछन् ।
हिलेबजारमा १ सय १४ घरधुरी रहेका छन् । तर सुन्दर हिलेबजारलाई असार १ गते (मंगलबार) आएको बाढीले निकै नै क्षति पुर्याएको छ ।
‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘अन्य घरहरु पनि जोखिममा रहेका छन् ।’
उहाँका अनुसार बाढीले यस हिलेबजारका २० घरका साथै एक सामुदायिक भवन समेत बगाएको छ । बाँकी ५५ घर उच्च जोखिममा रहेका छन् । झोलुङे पुल समेत उच्च जोखिममा छ । यहाँबाट हिँड्डुल गर्न रोक लगाइएको छ ।
बाढीले बगाएको बस्तीमा बालुवा र ढुंगाको थुप्रो देख्न सकिन्छ । ‘२० घर बाढीले बगायो । बाँकी पुरै बस्ती नै जोखिममा छ,’ उहाँले भन्नुभयो ।


दोर्दीखोलामा विगतमा सानो–तिनो बाढी आउने गरेको तर यसवर्ष असारको सुरुवातीमै ठूलो बाढी आई निकै भौतिक क्षति पुर्याएको वडाअध्यक्ष तुलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका बाढीबाट विस्थापित भएकाहरु अहिले फलेनी माविको भवनमा बसेका छन् । विस्थापित र बाढीको जोखिममा रहेका अन्य स्थानीय माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन् ।
‘विद्यालयको कुनै पनि कोठा खाली छैनन् । एउटा कोठामा २/३ घरका परिवार बसेका छन् । कोही माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन्,’ उहाँले भन्नुभयो ।
बाढीको उच्च जोखिममा रहेका हिलेबजारलाई जोगाउन तत्कालका लागि तटवन्ध गर्नका लागि स्थानीय, प्रदेश र संघ सरकारले सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।


विस्थापितहरुका लागि दिनहुँ विभिन्न संघसंस्थाले हिलेबजारमा राहत पुर्याइरहेका छन् ।
‘बाढीले घर बगायो । राहत त पाइरहेका छौँ । विद्यालयमा बसेका छौँ । विद्यालय खुलेपछि कहाँ जाने ?’ बाढी विस्थापित गंगामाया गुरुङले दुःख भाव व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अन्यत्र घर घडेरी छैन । हामीलाई बासको व्यवस्था गरिदिए हुने थियो ।’
जोखिममा रहेका बस्ती संरक्षणका साथै विस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सम्वन्धित विभिन्न निकायसंग पहल भइरहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
बाढीले हिलेबजारका साथै दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ । नदी किनारामा रहेका थुप्रै बस्ती जोखिमा रहेका छन् ।


FLASH NEWS