लमजुङको सुन्दरबजार नगरपालिकालाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको छ ।
कोशिस राष्ट्रिय मानसिक स्वावलम्बन संगठनले सुन्दरबजार नगरपालिकालाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।
कोशिस संस्थाले ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ परियोजना अन्तर्गत नगरपालिकालाई ४५ थान आइसोलेसन किट (मास्क, स्यानीटाइजर, ग्लोव्स, पल्र्स अक्सिमिटर, थर्मोमिटर, सिटामोल, कोरोना तथा मानिसक स्वास्थ्य सम्वन्धी सन्देशमुलक पर्चा) लगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरिएको संस्थाकी अभियान तथा पैरवी अधिकृत प्रमिला कार्कीले जानकारी दिनुभयो ।
कार्कीले सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल र स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिकाका प्रमुख परमेश्वर पियालाई संयुक्त रुपमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नगरपालिकाभित्र रहेका मनोसामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या भएका, आत्महत्याका जोखिममा रहेकाका साथै लक्षित समूहलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको र सोही अनुसार ती सामग्री वितरण गर्न नगरपालिकालाई अनुरोध गरिएको कार्कीले बताउनुभयो ।
कोरोनाको यस विषम परिस्थितिमा विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेकोमा नगरपालिकाका नगरप्रमुख मिश्रले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । प्राप्त स्वास्थ्य सुरक्षाका सामग्री लक्षित समूहलाई नै वितरण गरिने उहाँले बताउनुभयो ।
कोशिस संस्थाले सिबिएमको साझेदारीमा नेपालका विभिन्न ठाउँमा मानसिक स्वास्थ्य, प्रवद्र्धनका साथै आत्महत्या न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।