आज:  | Sun, 05, Dec, 2021

ढिकी, जाँतोमा पिसेको अन्न स्वादिलो र पोषिलो !

रेडियो भोटेओडार १२ कार्तिक २०७८, शुक्रबार १०:५२ मा प्रकाशित ( १ महिना अघि) २७९४ पाठक संख्या

श्यामशितल परियार
जाँतोमा मकै पिस्न व्यस्त हुनुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–३, केराबारीका चन्द्रप्रसाद श्रेष्ठ ।
उहाँले परम्परागत जाँतोमा मकै पिस्दै गरेको देख्दा÷हेर्दा गाउँघरबाटै पछिल्लो समय हराउँदै गएको ढिकी, जाँतो संस्कृति र ग्रामीण परिवेश झल्किएको आभाष गराउँछ ।
प्राय ः फुर्सदको समयमाः उहाँ घरमा पालिएका भैँसी र बाख्राका कुँडोका लागि यसरी नै जाँतोमा मकै पिस्नुहुन्छ ।
‘मिलमा मकै पिस्नको लागि टाढा पुग्नुपर्छ । कहिलेकाहीँ विद्युतको समस्याले अन्न मिलमा पुर्यापनि पिसानीमा समस्या हुन्छ,’  उहाँले भन्नुभयो, ‘त्यसैले घरमा पालिएका भैँसीबाख्राको कुँडोका लागि जाँतोमा मकै पिस्दै छु ।’
उहाँका छोरा केशवलाल श्रेष्ठले व्यवसायिक बाख्रापालन र अर्का छोरा राजीव श्रेष्ठले व्यवसायिक रुपमा भैँसीपालन गर्नुभएको छ ।
उहाँका अनुसार धान, मकै, कोदो लगायतका अन्न कुटानी, पिसानीका लागि केराबारीबाट भँगेरीसम्म पुग्नुपर्छ । मिलसम्म पुगेर कुटानी, पिसानी गरी घण्टौको बाटो धाएर उकालो उक्लनुपर्छ ।
मिलमा सजिलो भएतापनि टाढा पुग्न समस्या भएकाले सकेसम्म घरमै जाँतोमा मकै पिस्ने गरेको उहाँ बताउनुहुन्छ ।
तर पछिल्लो समय गाउँघरबाट ढिकी, जाँतोमा कुटानी, पिसानी गर्ने प्रचलन धेरै नै हराउँदै गएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमै मकै, कोदोको खेतीका साथै परिकारको उपयोग पनि हराउँदै गएको उहाँको अनुभूति छ ।
‘गाउँगाउँमा विद्युतीय मिल छन् । छिटो, छरितो सजिलो हुने भएकाले पनि ढिकी, जाँतोमा अन्न पिस्ने चलन हराउँदै गएको छ,’ ६५ वर्षे श्रेष्ठले भन्नुभयो, ‘त्यसो त अहिले ग्रामीण क्षेत्रमा समेत मकै, कोदोको खेती हुनै छाडेको छ ।’
श्रेष्ठ परिवारले घरमा कुँडोका लागि आवश्यक मकै गाउँमै उत्पादन गर्दै आएका छन् ।
अहिलेगाउँगाउँमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि परम्परागत ढिकी, जाँतोको प्रयोगमा कमी हुँदै आएको छ ।
विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै पानी घट्ट, ढिकी, जाँतो रहेकोमा अहिले लोप हुने अवस्थामा पुगेको छन् ।
ढिकी, जाँतोमा पिसेको खाद्यान्न पोषिलो र स्वादिलो हुने पुराना पुस्ता बताउँछन् ।


FLASH NEWS