Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

हराउँदै दाइँ संस्कृति !

रेडियो भोटेओडार २ मंसिर २०७८, बिहीबार १६:०१ मा प्रकाशित ( २ साल अघि) ३२७८२ पाठक संख्या

श्यामशितल परियार
प्रविधिको विकाससंगै पछिल्लो समय दाइँ हाल्ने परम्परा गाउँघरबाटै हराउँदै गएको छ ।
विगतमा कार्तिक मंसिरमा फाँटमा गरा खुर्केर । गोबर माटोले पोतेर । मियो गाडेर । कुन्युबाट धानको मुठा निकाली झाँटेर । धेरैभन्दा धेरै गोरु मियोमा घुमाएर । भाका हाल्दै । गोरु धपाउँदै, पराल माड्दै । रासमा रहेको धान नाङ्लोले बत्ताउँदै । परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो ।
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । दाइँ संस्कृतिले आपसमा मेलमिलाप गराउँथ्यो । भाका हाल्दै दाइँमा रमाउनुको मज्जा बेग्लै हुने तर अहिले त्यो संस्कृति हराउँदै जान थालेको दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङका मायनाथ वाग्ले बताउनुहुन्छ ।
पछिल्लो समय थ्रेसरको प्रयोग बढेसंगै गाउँघरबाटै दाइ संस्कृति हराउँदै गएको उहाँ बताउनुहुन्छ ।
तर आफुले भने बर्सेनी गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएको उहाँ बताउनुहुन्छ ।
केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका जिल्लाका अधिकांश किसानहरु पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’को प्रयोग गरी दाइँ हाल्दै आएका छन् ।
‘थ्रेसर मेशिन’को प्रयोगले किसानको समय, श्रम र पैसाको वचत भएतापनि मौलिक संस्कृति भने हराउँदै जान थालेको लमजुङका ५३ वर्षका माधवभद्र घिमिरेले बताउनुभयो ।
अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च पनि महँगो भएकाले लमजुङका किसानहरुले धान, पराल छुट्याउन ‘थ्रेसर मेशिन’कै प्रयोग धेरै गर्न थालेका घिमिरेको बुझाइ छ ।
स्थानीय राजु घिमिरेका अनुसार गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन् । पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै बिस्तारै हराउँदै जान थालेको छ ।
गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ । खर्च धेरै नै हुन्छ । तर ‘थ्रेसर मेशिन’ले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ‘थ्रेसर मेशिन’को प्रयोगमा तानिएका हुन् ।
विशेषगरी जिल्लाको सुन्दरबजार, पाउँदी, भोर्लेटार, भोटेओडार, बेसीशहर लगायतका ठाउँका किसानहरुले पछिल्लो समय ‘थ्रेसर मेशिन’बाटै दाइँ हाल्दै आएका छन् ।
श्रम, पैसा र समयको बचत हुने भएका कारण जिल्लाका किसानहरुले पछिल्लो समय आधुनिक कृषि उपकरणको उपयोग गरी खेतीपाती गर्दै आएका छन् ।


FLASH NEWS