आज:  | Fri, 29, Sep, 2023

लमजुङको भोटेओडारमा मिनी म्याराथुन दौड प्रतियोगिता संचालन : जुम्लाका दुर्गाबहादुर बुढा प्रथम

रेडियो भोटेओडार १९ मंसिर २०७८, आईतवार १२:४४ मा प्रकाशित ( १ साल अघि) १९०२७ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा प्रथम खुला मिनी म्याराथुन दौड प्रतियोगिता संचालन भएको छ ।
जिल्लाको बेसीशहर नगरपालिका–१, उदिपुर गेटबाट भोटेओडार कृष्णबगैँचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पस गेट, पाउँदी, सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैँचासम्म करिब १५ किलोमिटरमा दौड प्रतियोगिता संचालन गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको प्रथम उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जित्नुभएको छ ।
भारतीय सेनामा कार्यरत उहाँले प्रतियोगितामा सहभागी १ सय २० जना प्रतिस्पर्धीलाई पछि पार्दै १५ किलोमिटरको खुला म्याराथुन दौड प्रतियोगिता ४४ मिनेट ११ सेकेन्ड २४ मिनी सेकेन्डमा पूरा गर्दै प्रतियोगिताको प्रथम उपाधी जित्नुभएको हो ।
यस्तै, प्रतियोगितामा भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगरले ४४ मिनेट ११ सेकेन्ड ९६ मिनी सेकेन्डमा सो दुरी पार गर्दै प्रतियोगिताको उपविजेता बन्न सफल हुनुभएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले ४५ मिनेट ४५ सेकेन्ड ६२ मिनी सेकेन्डमा सो दूरी पार गर्दै तृतीया हुनुभएको छ ।
त्रिभुवन आर्मी क्लवकै रामजी बस्नेत ४६ मिनेट ४५ सेकेन्ड ४० मिनी सेकेन्ड र नवराज साउतले ४७ मिनेट ११ सेकेन्डमा सो दूरी पूरा गरी प्रतियोगितामा सान्त्वना हुनुभएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता प्रथम, द्धितीय, तृतीया र सान्त्वनालाई पुरस्कारस्वरुप क्रमश : मेडल र प्रमाणपत्रसहित नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, नगद २२ हजार २ सय २२ रुपैयाँ, नगद ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने २ जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई संविधानसभा सदस्य जमिन्द्रमान घले, सुन्दरबजार नगरपालिका नगरप्रमुख प्रमुख जनकराज मिश्र, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको हो ।


FLASH NEWS