श्यामशितल परियार
तनहुँको भानु नगरपालिका–१०, नेपालडाँडाका नवीन जोशी र सविना जोशी कुखुरापालन र गाइपालनबाट राम्रो आम्दानी नभएपछि भैँसीपालनतर्फ मोडिनुभयो । उहाँहरुले भैँसीपालन गरी व्यवसायिक कृषि उद्यमलाई निरन्तरता दिनुभएको हो ।
भैँसीको दूधको बजारमा माग, मूल्य राम्रो रहेको र यसबाट फाइदा हुने सम्भावना देखेर परिवारको सल्लाहमै आफुहरु भैँसीपालन व्यवसायतिर होमिएको उहाँले बताउनुभयो ।
२०७४ सालबाट उहाँहरुले भैँसीपालन गर्नुभएको हो । अहिले उहाँहरुको भैँसीपालन व्यवसाय थप विस्तार भएको छ । अहिले फर्ममा साना÷ठूला गरी बाइस वटा भैँसी रहेका छन् । फर्ममा नौ वटा दुहुना, ३ वटा ब्याउने भैँसी र अन्य साना पाडापाडी रहेका छन् ।
सबेरै बिहानदेखी अबेर साँझसम्मै भैँसीकै स्याहार–सुसारमै समय व्यतीत हुने गरेको छ, सविनाको । भैँसीलाई कुँडोपानी, घाँसपात, गोठ सफा गर्नुका साथै दूध दुहुने, फर्ममा उत्पादित दूध बिक्रीका लागि बजार लैजान तयारी गर्ने कार्यमा उहाँ आफैँ सरिक हुनुहुन्छ ।
‘श्रीमान्ले पनि सघाउनुहुन्छ । उहाँ सामाजिक, राजनीतिक क्षेत्रमै क्रियाशिल हुनुहुन्छ । प्राय ः भैँसीपालन व्यवसायमा मै खटिएको हुन्छु,’ फर्ममा पालिएका भैँसीलाई घाँस हाल्दै सविनाले भन्नुभयो ।
विगतमा नविन दूध बिक्रीका लागि आफैँ बजार पुग्नुहुन्थ्यो । अहिले दूध बिक्रीमा एसइइ दिएर घरमै बस्नुभएका छोरा सुशान्तले सघाउनुभएको छ ।
‘बाबा–आमाले कृषि कर्म गर्नुभएको छ । खुशी लाग्छ । पढाइ÷लेखाइबाट बचेको फुर्सदको समयमा उहाँहरुलाई सघाउँदै आएको छु,’ फर्ममै भेटिनुभएका १६ वर्षे सुशान्तले भन्नुभयो, ‘अहिले दूध बिक्रीका लागि आफैँ बजार पुग्ने गरेको छु ।’
घर नजिकै तनहुँको भानु–१०, नेपालडाँडा खाल्टेफाँटमा नवीन र सविनाले संचालन गर्नुभएको स्वस्तिका गाईभैँसी फर्मबाट उत्पादित दूध लमजुङको पाउँदीबजार र तनहुँको कालीमाटी बजारमै खपत हुने गरेको कृषक सविना बताउनुहुन्छ ।
‘भैँसीको दूधको माग धेरै नै छ । भाग पुर्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ । बजारको कुनै समस्या छैन ।’ उहाँको फर्ममा अहिले दैनिक २५÷३० लिटर हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूध प्रतिलिटर एक सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।
अहिले दूध बिक्रीबाट मासिक ५०÷६० हजार हाराहारीमा आम्दानी हुँदै आएको सबिनाले बताउनुभयो ।
भैँसी खरीद, भौतिक संरचना निर्माणमा गरी उहाँहरुको लाखौँ लगानी भइसकेको छ । फर्म झण्ड पाँच रोपनी जग्गामा फैलिएको छ । वार्षिक २० हजार भाडा तिर्ने गरी उहाँहरुले जग्गा भाडामा लिई फर्म स्थापना गर्नुभएको हो ।
‘फर्मममा लाखौँ लगानी भइसकेका छ । लगानी र दुःख गरेअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ,’ सविनाले भन्नुभयो ।
आफुहरुले भैँसीका लागि आवश्यक घाँस खेती गरिएको पनि उहाँले बताउनुभयो । अझै यस व्यवसायलाई थप विस्तार र व्यवस्थित गर्दै लैजाने फर्म संचालक नवीन जोशीको लक्ष्य छ ।
व्यवस्थित र व्यवसायिक रुपमा भैँसीपालन गर्न सकेमा स्वदेशमै राम्रो कमाउन सकिने उहाँहरुको भनाइ छ ।