लमजुङको दोर्दी गाउँपालिकाका अपांगता भएका व्यक्तिहरुलाई मौरीसहितको घार वितरण गरिएको छ । दोर्दी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गाउँपालिकाभित्र रहेका विभिन्न अपांगता भएका १५ जना व्यक्तिहरुलाई निःशुल्क मौरीसहितको घार वितरण गरेको हो ।
अपांगता भएका व्यक्तिहरुलाई आय–आर्जनका क्षेत्रमा अघि बढाइ उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यले सहयोगस्वरुप प्रति व्यक्तिलाई एक÷एक वटा मौरीसहितको घार वितरण गरिएको शाखाका प्रमुख रन्जु विश्वकर्माले जानकारी दिनुभयो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले, सामाजिक विकास समिति, दोर्दी गाउँपालिकाका संयोजक अम्बिका मरहट्ठाले संयुक्त रुपमा अपांगता भएका व्यक्तिहरुलाई मौरीसहितको घार वितरण गर्नुभएको हो ।
दोर्दी गाउँपालिका क्षेत्रमा मौरीपालनको उच्च सम्भावना रहेको बताउँदै मौरीपालन गर्न सकेमा घरगाउँमै स्वरोजगार बन्न सकिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । कृषि तथा पशुपालन क्षेत्रको विकास गर्नुका साथै यस क्षेत्रमा किसानको आकर्षण बढाउन पालिकाले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गाउँपालिकाले सानै भएपनि सहयोग गरेको र व्यवसायिक मौरीपालनमा अग्रसर भई आय–आजर्नमा जुट्न सामाजिक विकास समिति दोर्दी गाउँपालिकाका संयोजक अम्बिका मरहट्ठाले बताउनुभयो ।