लमजुङको सुनदरबजार नगरपालिका ९ फूलबारीमा बास्केटल ग्राउण्ड कोर्ट निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालयको आर्थिक सहयोग र स्थगानीय कर्मरेखा भूपू सैनिक संगठनको सक्रियतामा फूलबारीमा बास्केटबल ग्राउण्ड कोट निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको ८ लाख रुपैयाँ र सुन्दरबजार नगरपालिका वडा नं ९ को चार लाख गरी १२ लाखको लागतमा बास्केटबल ग्राउण्ड कोर्ट निर्माण गरिएको कर्मरेखा भूपू सैनिक संगठनका सचिव मिनबहादुर गुरुङले जानकारी दिनुभयो । खेलकै माध्यमबाट शारीरिक, मानसिक रुपमा स्वस्थ रहन टेवा पुग्नुका साथै युवाहरुलाई खेलकमा आकर्षित गरी थप सिर्जनात्मक र रचनात्मक बनाउने उद्धेश्यले कोर्ट निर्माण गरिएको उहाँले बताउनुभयो । नव निर्मित कोर्टको आइतबार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । कोर्टको संरक्षण र सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
संगठनका अध्यक्ष दूधप्रसाद घलेको अध्यक्षतामा कार्यक्रम भएको हो । संगठनका उपाध्यक्ष क्याप्टेन खेमजंग गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य जमिन्द्रमान घले, नेकपा एमाले सुनदरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, फूलबारी टोल विकास संस्थाका अध्यक्ष तुलाराम गुरुङ लगायतले बोल्नुभएको थियो ।