आज:  | Fri, 29, Sep, 2023

लमजुङको विचौरमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन

रेडियो भोटेओडार ३१ जेष्ठ २०८०, बुधबार १७:३३ मा प्रकाशित ( ३ महिना अघि) २८३६ पाठक संख्या

लमजुङ दूधपोखरी गाउँपालिका २ विचौरमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । पशु सेवा शाखा, दूधपोखरी गाउँपालिकाको आयोजना एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक सहयोगमा बुधबार एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको हो ।
पशुपालक किसानहरुको घरआँगनमै पशु स्वास्थ्य सेवाको पहुँच पुर्याउनुका साथै पशु स्वास्थ्य समस्या पहिचान गरी उपचार गरी किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले शिविर संचालन गरिएको विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा एक सय २१ घरधुरीका २ हजार ५ सय २० पशुको स्वास्थ्य जाँच गरिएको छ ।
तीमध्ये एक सय ६२ वटा भैँसी, ७१ वटा गाइगोरु, एक हजार ४१ वटा बाख्रा, १ हजार २ सय ४२ वटा कुखुरा र ४ वटा घरपाुलवा कुकुरको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो ।
शिविरमा पशु चिकित्सकहरुबाट पशु स्वास्थ्य जाँचका साथै औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा पशुको गोवर परिक्षण, बन्ध्याकरण, घाउको उपचारका साथै परजीवि नियन्त्रण, विभिन्न पशु स्वास्थ्य समस्याको बारेमा किसानलाई आवश्यक परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
शिविरमा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठसंगै पशु प्राविधिक सुस्मिता अधिकारी, नायव पशु स्वास्थ्य प्राविधिक मनोज न्यौपाने, दूधपोखरी गाउँपालिका, पशु स्वास्थ्य शाखाका दिनेश गुरुङ, शाखाकै सन्दिप न्यौपाने लगायतको टोली खटिएका थिए ।
किसानको घरआँगनमै प्राविधिसहितको पशु स्वास्थ्य शिविर संचालन भएकोमा पशुपालक किसानहरु खुशी भएका र यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले जोड दिनुभयो ।


FLASH NEWS