आज:  | Sun, 28, Feb, 2021

‘अहिले नाती–नातीनाले नै हजुरबा–हजुरआमा नै चिन्दैनन, भेट्दैन् अनि कहाँबाट सिक्नु ज्ञान, सीप र अर्ती ?’

रेडियो भोटेओडार १५ आश्विन २०७६, बुधबार १६:४७ मा प्रकाशित ( १ साल अघि) ९१७८ पाठक संख्या

मंगलबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसकै अवसरमा लमजुङमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो ।
दिवस मनाइरहँदा ज्येष्ठ नागरिकको अवस्था, उनीहरुको हक–हितमा भएका प्रयास लगायतका विषयमा केन्द्रीत रहेर श्यामशितल परियारले ज्येष्ठ नागरिक समाज लमजुङका अध्यक्ष नारायणबहादुर कुँवरसंग संक्षिप्त कुराकानी गर्नुभएको छ ।

जेष्ठ नागरिक समाजका ऐना हुन्, ‘उनीहरुको सम्मान हुनु आवश्यक छ’ भनेर भन्ने गरिन्छ । के भनेअनुसार नै उनीहरु घर, परिवार, समाजबाट सम्मानित हुनुका साथै सुख–खुशी ढंगले जीवन बाँचिरहेका छन् त ?
हुनुपर्यो चाहिँ त्यही हो । तर पहिले र अहिलेमा फरक छ । हामी सानो छँदा बुवा, आमा, हजुरबुवा, हजुरआमासंग बस्थ्यौँ । छोरा–बुहारीले बाउ–आमाको सम्मान गर्थे । रेखदेख गर्थे । सञ्चो–बिसञ्चो हुँदा स्याहार गर्थे । पछिल्लो समय परिवार छोट्टिदैँ जान थालेको छ । त्यसैले बुढाबुढीको हेरविचार गर्ने, स्याहार गर्ने कोही छैनन् ।
छोराहरु कमाउन विदेश भासिएका छन् । बुहारीहरु छोराछोरी पढाउने निहुँमा शहर झर्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा त बुढाबुढी मात्रै छन् ।
भलै, छोराले पैसा पठाइदेलान् । तर पैसाले आवश्यक सामान किनेर लगिदिने कोही छैनन् ।
पहिले छोराछोरी विदेश पठाएर मेरो छोराछोरी, अमेरिका, अष्ट्रेलिया, जापान छन् भनेर खुशी हुने बाआमा, अहिले तिनै बाआमा बुढेसकामा बिरामी हुँदा अस्पताल लैजानेसमेत कोही छैन भनेर पिरोलिने अवस्था छ ।
बरु उपचार खर्च जति लाग्छ, पैसा त्यति पठाइदिन तयार छन् तर बाउआमाको उपचारका लागि आउने फुर्सद उनीहरुलाई छैन । त्यसैले पनि प्रायः धेरै ज्येष्ठ नागरिक दुःखित भएर बाँचिरहेका छन् ।

ज्ञान, अनुभवका खानी मानिने ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ ? के यी कुराहरु नवपुस्तामा हस्तान्तरण भएको पाउनुभएको छ ?पुरानो पुस्ताको ज्ञान, सीप त नयाँ पुस्तामा हस्तान्तरण हुनै छोडिसक्यो । पहिले छोरा नातिनातिना हजुरबाउ हजुरआमाको काखमा हुर्किन्थे । उनीहरुबाट अर्ती पाउँथे । ज्ञान, सीप सिक्ने मौका पाउँथे । अहिले त नातीनातिनाले आफ्नो हजुरबाउ हुजुरआमा भेट्दैनन् । चिन्दैनन् । अनि कहाँबाट उनीहरुले अर्ती, ज्ञान, सीप सिक्ने ?
पहिले बाउ सिकर्मी, डकर्मी भयो भने छोरा नातीसमेत सिकर्मी, डकर्मी हुन्थे । उनीहरुले अग्रजबाट ज्ञान सीप सिक्थे । अहिले त त्यस्तो अवस्था छैन ।
त्यसैले पनि पुराना ज्ञान, सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन ।
पछिल्लो समय एकल परिवारमा बस्न खोज्नेहरु बढ्न थालेका छन् । जसले गर्दा नातीनातीनाको हजुरबा, हजुरआमासंग भेटै हुँदैन । चिनजान नै हुँदैन । सम्बन्ध, माया, प्रेम नै हुँदैन । त्यसैले अर्ती, ज्ञान, सीपका कुरा सिक्ने टाढाको कुरा भयो ।

यहाँले यसो भनिरहँदा पछिल्लो समय एकल परिवारमा बस्न रुचाउनेको संख्या किन बढेको होला ?पश्चिमा सभ्भ्यताको नक्कलले गर्दा यसो भएको हो । त्यसैले अहिले मानिसहरु संयुक्त परिवारमै बस्न रुचाउँदैनन् । त्यसैले बडो गाह्रो अवस्था आइरहेको छ ।
र अन्त्यमा, ज्येष्ठ नागरिकको हक–हितका लागि राज्यतवरबाट भएका प्रयास र अझै उनीहरुको हक–हितका लागि राज्यले के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?
ज्येष्ठ नागरिकको हक–हितमा राज्यतवरबाट केही कुरा त अवश्य भएका छन् । तर ज्येष्ठ नागरिकलाई उपचार खर्च, यातायात सेवामा ५० प्रतिशत छुट दिने, लाइनमा बस्नु नपर्ने लगायतका धेरै कुरा भने लिखितमै सीमित भएका छन् ।
ज्येष्ठ नागरिकका हक–हितमा उल्लेख गरिएका कुराहरु लागु हुनु आवश्यक छ । ज्येष्ठ नागरिकले सम्मानित भएर जीउन पाउने वातावरण राज्यले सिर्जना गर्नु आवश्यक छ ।


FLASH NEWS