Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

बाख्रापालनमा रम्दै श्रीमन्ज्याङका धनबहादुर गुरुङ

रेडियो भोटेओडार २८ असार २०७८, सोमबार १२:५६ मा प्रकाशित ( २ साल अघि) २२२४० पाठक संख्या

श्यामशितल परियार
घरको आर्थिक अवस्था कमजोर । खासै पढाई, लेखाई भएन । त्यसैले कलिलै उमेरमा धन कमाउन भारत पस्नुभयो, लमजुङ दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङका धनबहादुर गुरुङ ।

१० वर्षसम्म उहाँले श्रम पसिना बगाउनुभयो, भारतीय भूमीमा । एक दशकसम्म पराइ देशमा श्रम–पसिना त बग्यो तर उहाँको आर्थिक स्थिति भने माथि उठ्न सकेन । ‘१५ वर्षमा भारत गएँ । १० वर्ष उतै काम गरेँ । तर गतिलो कमाइ भएन,’ उहाँले भन्नुभयो ।
त्यसपछि, उहाँ गाउँ नै फर्कनुभयो । गाउँ त फर्कनुभयो । तर आम्दानीको कुनै श्रोत नभएपछि परिवारको गुजारा चलाउनै निकै सकस भयो, उहाँलाई ।

घरको ‘चुल्हो बाल्न’ कै लागि उहाँले फेरी विदेश यात्रा तय गर्ने सोच बुन्नुभयो । २०७० सालमा मलेसिया हानिनुभयो । ९ महिना उहाँले मलेसियामै जागिरे जीवन व्यतीत गर्नुभयो ।

त्यहाँ झन् उहाँले धेरै दुःख भोग्नुपर्यो । ‘मलेसिया त गइयो । २४ घण्टा एयरपोर्टमै अलपत्र परियो,’ उहाँले भन्नुभयो, ‘धेरै समयपछि कम्पनी लिन आयो । लामै कोठामा थुनिएर बस्नुपर्यो । बल्लबल्ल कम्पनीले काम लगायो ।’

उहाँले ९ महिनाको अवधीमा ५ महिना मात्रै काम गर्नुभयो । ‘९ महिनाको अवधीमा ५ महिना काम गरेँ । तर ३ महिनाको मात्रै तलव पाएँ,’ उहाँले भन्नुभयो,‘विदेशमा धेरै ठक्कर खाइयो । विदेशमा बस्न मन लागेन । र गाउँ फकिएँ आएँ ।’
गाउँ आएपछि हातमा सीप नभएकाले काम कमाई भएन । परिवारको गुजारा चलाउन समस्या भयो । गाउँ आएपछि परिवारको गुजारा चलाउनका लागि उहाँले ज्याला–मजदुरी, खेती–किसानी गर्न थाल्नुभयो । खसीबोकाको व्यापार पनि थाल्नुभयो ।
किसानहरुबाट खसीबोका खरिद गरी उहाँले गाउँ, बजारी क्षेत्रमा बिक्री गर्न थाल्नुभयो । यसबाट राम्रै कमाइ भयो ।

त्यसपछि उहाँलाई मनमा लाग्न थाल्यो, ‘बाख्रापालनबाट राम्रो कमाइ हुने रहेछ । आफैँ बाख्रापालन किन नगर्ने ?’
बाख्रापालनबाट राम्रो धन कमाउन सकिने आशाका साथ धनबहादुरले गाउँमै बाख्रा पाल्न थाल्नुभयो । उहाँले २०७१ सालबाट बाख्रा पाल्न सुरु गर्नुभएको हो ।
एउटा माउ बाख्राबाट बाख्रापालन सुरु गर्नुभएका धनबहादुरलाई विस्तारै बाख्राको संखया बढाउँदै लैजानुभयो । ‘श्रीमन्ज्याङ कृषि फर्म’ दर्ता गरी अहिले उहाँ व्यवसायिक बोयर बाख्रापालनमा रम्नुभएको छ । उहाँले दुई वटा आधुनिक खोरमा बाख्रा पाल्दै आउनुभएको छ ।
उहाँको फर्ममा अहिले ३५ वटा बोयर, जमुनापारी २ वटा, खरी १२ वटा र बिटल जातका बाख्रा पालिएका छन् ।
कम समयमै धेरै उत्पादन हुने, उत्पादन सजिलै बिक्री हुने भएकाले बोयर बाख्रपालन गरेको उहाँले बताउनुभयो ।

‘कम समयमै धेरै उत्पादन हुन्छ । उत्पादनको मूल्य राम्रो छ । उत्पादन सजिलै बिक्छ,’ उहाँले भन्नुभयो, ‘बोयर बाख्रापालन गर्दा किसानलाई निकै फाइदा हुन्छ ।’ फर्मबाट वार्षिक ४÷५ लाख हाराहारीमा आर्थिक कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘विदेशमा भन्दा स्वदेशकै उद्यममा खुशी छु । कृषि उद्यमबाट राम्रै कमाइ भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘घरपरिवारको गुजारा चलाउन सजिलो भएको छ ।’
बाख्रापालन व्यवसायमा सम्वन्धित निकायबाट साथ सहयोग पाइरहेको उहाँले बताउनुभयो । ‘सरकारी तवरबाट साथ सहयोग मिलेको छ । यसले झनै व्यवसायमा लाग्ने हौसला प्रदान गरेको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो ।

विशेषगरी : बोयर बाख्रापालनलाई थप विस्तार गर्दै लैजाने उहाँको सोँच रहेको छ । आवश्यक ज्ञान, सीप लिएर, घरगाउँमै श्रम पसिना बगाई कृषि उद्यम गर्न सकेमा यहीँ मनग्य कमाउन सकिने, जीवन चलाउन सकिने उहाँले बताउनुभयो ।


FLASH NEWS