Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

व्यवसायिक कृषि उद्यममा रमाउँदै लालमाया मिजार

रेडियो भोटेओडार ११ श्रावण २०७८, सोमबार १४:३३ मा प्रकाशित ( २ साल अघि) १७४३१ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिका–८, दुवरकी लालमाया मिजारले व्यवसायिक पशुपालन र तरकारी खेती गर्दै आउनुभएको छ ।
समाजसेवासंगै उहाँले अहिले व्यवसायिक पशुपालन तथा तरकारी खेतीलाई संगसंगै अगाडि बढाउँदै लैजानुभएको छ ।
मिजार दोर्दी गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुनुहुन्छ ।
विगतमा निर्वाहमुखी ढंगले तरकारी खेती र पशुपालन गर्दै आउनुभएकी मिजारले व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्न सकेमा राम्रो कमाउन सकिने भन्दै व्यवसायिक कृषि उद्यममा लाग्नुभएको हो ।
‘फुर्सदको समयलाई सदुपयोग गरी घरगाउँमै कृषि उद्यम गर्न सकेमा यसैबाट राम्रो कमाउन सकिन्छ । सजिलै जीवन चलाउन सकिन्छ,’ उहाँले बताउनुभयो ।
उहाँले हिउँद बर्खै तरकारी खेती गर्दै आउनुभएको छ । हिउँदमा ४ रोपनी जग्गामा लसुन, प्याज, आलु, काउली, बन्दा लगायतका तरकारी लगाउँदै आउनुभएको छ ।
बर्खाको समयमा भने उहाँले ३ वटा टनेलमा गोलभेँडा खुर्सानी लगाउँदै आउनुभएको छ ।
अहिले एउटा टनेलमा अकबरे खुर्सानी रहेका छन् भने दुई वटा टनेलमा गोलभेँडा लगाइएको छ । टनेलमा गोलभेँडा उत्पादन भइरहेको छ । उत्पादित गोलभेँडा उहाँले घरगाउँमै बिक्री गर्दै आउनुभएको छ ।
प्रतिकेजी एक सय रुपैयाँमा गोलभेँडा बिक्री भइरहेको छ । ‘उत्पादन गाउँमै खपत हुन्छ । माग पुर्याउन सकिरहेको छैन,’ उहाँले भन्नुभयो ।
यस्तै, उहाँले सुधारिएको बाख्राको खोर बनाई व्यवसायिक रुपमा बाख्रा पनि पाल्दै आउनुभएको छ ।
यसै वर्ष मात्र १ लाख रुपैयाँ बराबरको खसी, बोका बिक्री भएको उहाँले बताउनुभयो ।
कृषि व्यवसायमा उहाँलाई घर–परिवारको पनि साथ मिल्दै आएको छ । स्थानीय विद्यालयमा पढाउँदै आउनुभएका उहाँका श्रीमान् डिलबहादुर उपरकोटीले पनि फुर्सदको समय यसैै कृषि व्यवसायमा खर्चनुभएको छ ।
सामाजिक सेवाका साथै आफ्नै कृषि उद्यममा रम्न पाउँदा आफुलाई निकै नै खुशी मिल्ने उहाँले बताउनुभयो ।
व्यवसायिक कृषि तथा पशुपालन व्यवसायबाट वार्षिक ३ लाख हाराहारीमा आर्थिक कारोवार हुने गरेको उहाँले बताउनुभयो ।
‘परिश्रम गर्न सके कृषि उद्यमबाटै राम्रो कमाउन सकिन्छ । जीवन उकास्न सकिन्छ,’ लालमायाले भन्नुभयो ।


FLASH NEWS