Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिदैँ

रेडियो भोटेओडार १५ चैत्र २०७८, मंगलवार १८:२० मा प्रकाशित ( २ साल अघि) १७११६ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने भएको छ ।

आउँदो वैशाख २ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो ।

घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले मंगलबार बेसीशहरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलव्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसंगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेजन घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

२०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिव गाउँको रुपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २०५७ वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो ।

२०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ । वैदेशिक रोजगारमा जानेको संख्या घट्दो छ । विगतमा बसाइँ सराइ गर्नेहरु गाउँ फर्कन थालेका छन् ।

उहाँका अनुसार एक सय ३५ घरधुरी रहेको घलेगाउँमा ४२ घरधुरीले होमस्टे चलाएका छन् । होमस्टे संचालन नगरेका स्थानीयले ग्रामीण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेशा संचालन गरेका छन् ।

स्थानीयले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आय–आर्जन बढाएका छन् । अन्य परम्परागत पेशा, व्यवसायको पनि जगेर्ना गरिएको छ । यसले यहाँको दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्धत पुगेको छ । गाउँमा प्राचीन इतिहास झल्काउने संग्रहालयको निर्माण गरिएको छ ।

यहाँका बासिन्दाहरु पर्यावरणसंगै परम्परागत संस्कार, संकृति जगेर्नामा लागि परेका छन् । गाउँमा सामुदायिक चिया बगान र प्राचीन शभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ पनि संचालनमा छन् ।

‘यिनै कुराहरुले घलेगाउँलाई जीवन्तता दिएको छ । यसैको अध्ययन अवलोकन वर्सेनी चालिस हजार भन्दा बढि पर्यटकहरु घलेगाउँ आउने गरेका छन्,’ उहाँले थप्नुभयो ।

पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीनवस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवद्र्धनमा मद्धत पुगेको क्वलहोलासोँथर गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका घलेले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा आउने पर्यटकलाई लक्षित गरी हस्तकलाको सामान उत्पादनमा जोड दिइएको छ ।

अर्गानिक कृषि कर्मतिर गाउँलेहरु आकर्षित छन् । स्थानीय व्यस्त हुनुका साथै समयको सदुपयोग भएको र यसले नागरिकलाई स्वस्थ्य र आत्मानिर्भर बनाएको उहाँले बताउनुभयो ।

‘त्यसैले यहाँको ग्रामीण पर्यटन विकासमा सफलता मिलेको छ । आफ्नो श्रम, पेशा वा व्यवसाय प्रतिको सम्मान र कामको अन्तर सम्बन्धले घलेगाउँलाई सुखी गाउँको गन्तव्यमा पुर्याएको हो,’ उहाँले थप्नुभयो ।


FLASH NEWS