Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङ : मौरीपालन व्यवसायमा किसानको आकर्षण

रेडियो भोटेओडार १३ श्रावण २०७७, मंगलवार १७:३८ मा प्रकाशित ( ३ साल अघि) ४२५८९ पाठक संख्या

श्यामशितल परियार
लमजुङमा व्यवसायिक मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको छ । कम समय, श्रम र लगानीमा राम्रो कमाइ हुने भएकाले मौरीपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो ।
मौरीपालन व्यवसायबाटै किसानहरुले राम्रो आम्दानी गरिरहेको नेपाल मौरीपालन महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष ललित गुरुङले बताउनुभयो ।
‘घरगाउँमै थौरै लगानी, श्रममा मौरीपालनबाट राम्रो कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको छ । किसानले यसै व्यवसायबाट मनग्य कमाई रहेका छन् ।’

३ सय किसान मौरीपालनमा
उहाँका अनुसार विदेशबाट फर्किएका, घरगाउँमै रहेका युवाहरु पनि मौरीपालन व्यवसायमा जुटिरहेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी ३ सयको हाराहारीमा मौरीपालक किसानहरु रहेका छन् । यद्यपी नेपाल मौरीपालन महासंघ, लमजुङ शाखामा २ सय ७९ मौरीपालक किसान आवद्ध रहेका छन् ।

जिल्लामा उत्पादित मह, मौरी र घार लमजुङसहित तनहुँ, गोरखा र कास्कीमा समेत खपत हुँदै आएको छ ।
‘उत्पादनले राम्रो बजार र मूल्य पाएको अवस्था छ । किसानले मौरीपालन व्यवसायबाट राम्रो कमाइ गर्दै आएका छन्,’ उहाँले थप्नुभयो ।
जिल्लामा उत्पादित मह लमजुङसहित विशेषगरी पोखरा र काठमाडौँमा खपत हुँदै आएको छ । जिल्लाका किसानले हाल प्रतिकेजी ९ सय रुपैयाँमा मह बिक्री गर्दै आएका छन् ।
जिल्लाका किसानले मौरीपालन व्यवसायबाट न्यूनतम १ लाखदेखी ३५ लाखसम्म कमाउँदै आएको उहाँले बताउनुभयो ।
३५ मेट्रिक टन मह उत्पादन

जिल्लामा वार्षिक झण्डै ३५ मेट्रिक टन मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । ‘किसानले आधुनिक घारमा पालेको मौरीबाट २० मेट्रिक टन र भीर मौरीबाट १५ मेट्रिक टन गरी झण्डै ३५ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महले उचित बजार र मूल्य पाएको अवस्था छ । भीर महको बजार मूल्य उच्च छ,’ उहाँले भन्नुभयो ।

मह उत्पादनमा आत्म–निर्भर
लमजुङमा माग र आवश्यकताअनुसार मौरी र मह उपलब्ध रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाहिरबाट मह, मौरी ल्याउनुपरेको अवस्था छैन । जिल्लाको माग र आवश्यकतालाई स्थानीय उत्पादनले धानेको छ । मह उत्पादनमा जिल्ला लगभग आत्मनिर्भर छ । उत्पादनको निर्यात पनि राम्रो छ ।


लमजुङको सुन्दरबजार नगरपालिका–५, गहतेमा रहेको गहते मौरी पकेट क्षेत्र, बेसीशहर नगरपालिका–४, पुरानोकोटमा रहेको मौरी पकेट क्षेत्रलाई समेटेर अहिले ‘मौरी ब्लक क्षेत्र’ बनाइएको छ ।

‘साविक मौरी पकेट क्षेत्र गहते, पुरानोकोटमा चिसापानी क्षेत्रलाई समेटेर ‘मौरी ब्लक क्षेत्र’ बनाइएको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार हाल जिल्लामा दूधपोखरी गाउँपालिका–६, गौँडामा ‘मौरी पकेट क्षेत्र’ रहेको छ । ‘मौरी ब्लक क्षेत्र’का लागि कम्तीमा ५ हजार मौरी घारमा मौरी पालिएको हुनुपर्छ । पकेट क्षेत्रका लागि कम्तीमा ५ सय घारमा मौरी पालिएको हुनुपर्छ ।


FLASH NEWS