श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुन्दरबजार नगरपालिका–७, का ३२ वर्षीया एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि सुन्दरबजार नगरपालिका वडा नं ५, ६, ७, ८ र ९ मा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएका वडाहरुमा औषधी उपचार, खाद्य वस्तु खरीद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ ।
एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा नीजि यात्रु तथा मालवहाक सवारी साधन (मोटरसाइकल समेत) संचालन गर्न रोक लगाइएको छ ।
यस्तै, अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय संचालन गर्न रोक लगाइएको छ । तर खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखी ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।
स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक वित्तिय संस्था सहकारी सहित सबै सरकारी, नीजि तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा संचालन गर्न रोक लगाइएको छ ।
धार्मिक, साँस्कृतिक सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु संचालन गर्न रोक लगाइएको छ । आदेशको पालना नगरेमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय, लमजुङले जनाएको छ ।