आज:  | Sat, 30, Sep, 2023

लमजुङको दोर्दी गाउँपालिकामा डकर्मी तालिम संचालन : बेरोजगार युवालाई सीप सिकाई स्वरोजगार बनाउने उद्धेश्य

रेडियो भोटेओडार २२ कार्तिक २०७७, शनिबार ११:४२ मा प्रकाशित ( २ साल अघि) ३१५२२ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिकामा प्रतिरोधी शहरी भवन निर्माणसम्बन्धी एक हप्ते डकर्मी तालिम संचालन गरिएको छ । रोजगार शाखा, दोर्दी गाउँपालिकाको आयोजनामा तालिम संचालन गरिएको हो । कात्तिक २१ देखी सुरु भएको तालिम २७ गतेसम्म संचालन हुनेछ ।

गाउँपालिकाका प्रत्येक वडाका ३ जना गरी २७ जना तालिममा सहभागी भएका रोजगार शाखा, दोर्दी गाउँपालिकाका संयोजक धर्म गुरुङले बताउनुभयो । ‘यस क्षेत्रमा धेरै भौतिक संरचना निर्माण हुँदैछन् । स्थानीय युवाको हातमा सीप भएमा उनीहरुले घरगाउँमै रोजगार पाउन सक्छन्,’ उहाँले भन्नुभयो, ‘बेरोजगार युवालाई घर–गाउँमै स्वरोजगार बनाउन उनीहरुलाई सीपमुलक तालिम प्रदान गरिएको हो ।’

ज्ञान, सीप बिना रोजगारी सिर्जना गर्न नसकिने भएकाले सीप सिकाई स्थानीय युवालाई घर–गाउँमै स्वरोजगार बनाउनका लागि तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । ‘अन्य ठाउँबाट यस क्षेत्रमा आइ धेरैले डकर्मी काम गरि राम्रो कमाइ गरेका छन्,’ उहाँले थप्नुभयो, ‘बिना कुनै ज्ञान, सीप रोजगारी सिर्जना हुन सक्दैन । त्यसैले बेरोजगार युवालाई घर–गाउँमै सीप सिकाएर रोजगारी सिर्जना गर्ने उद्धेश्यले तालिम चलाइएको छ ।’ गाउँपालिकाले बिस्तारै बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम संचालन गरिने उहाँले बताउनुभयो ।

यसैगरी, गाउँपालिकका उपाध्यक्ष दिलबहादुर घलेले तालिममा सिकेका ज्ञान, सीप समुदायका अन्य व्यक्तिलाई पनि सिकाउनुका साथै व्यवहारमा उतारी आफ्नो जीवनस्तर उकास्न उहाँले सहभागीलाई आग्रह गर्नुभयो ।

मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि तालिमप्राप्त मानिस आवश्यक हुने भएकाले ध्यान दिएर सीप सिकेर व्यवहारमा उतार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा), दोर्दी गाउँ कमिटिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

सहभागीलाई गाउँपालिकाका इन्जिनियर अतित खनाल, सब ओभरसियर विश्वास पाण्डेले तालिम प्रदान गर्नुहुनेछ ।


FLASH NEWS