श्यामशितल परियार
लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, मा रहेको पर्यटकीय स्थल हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।
हर्सिङ डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले पहिलोपटक हर्सिङ डाँडाबाट प्याराग्लाइडिङ परीक्षण उडान गरेको हो ।
हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।
परीक्षण उडान सफल भएसँगै अब हर्सिङ डाँडामा व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने भएको गाउँपालिकाका उपाध्यक्ष विकले बताउनुभयो ।
पोखरामा रहेकाे ओपन स्काइ प्याराग्लाइडिङ प्रालिका टेण्डम फ्लाइट पाइलट नुरेन राना र सोलो फ्लाइट पाइलट सुमन मगरले प्याराग्लाइडिङ परीक्षण उडान गर्नुभएको हो ।
समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको हर्सिङ डाँडाबाट मनास्लु हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमशृङ्खलाका प्रत्यक्ष दृश्यवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
हर्सिङ डाँडामा ‘पिकनिक स्पट’का साथै पदमार्गको रुपमा विकास गर्दै पर्यटक आगमन बढाउने गाउँपालिकाको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । प्याराग्लाइडिङ परीक्षण उडानमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष विक, वडाअध्यक्ष प्रेमबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।