लमजुङको दोर्दी गाउँपालिका–५, पाचोकबेसीमा नयाँ बन्न लागेको पाचोक स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बुधबार भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य चौकी भवन निर्माण भएसंगै नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सहज हुने उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीको भवन जीर्ण र साँघुरो भएकाले नयाँ भवनको आवश्यकता भएकाले राष्ट्रिय योजना आयोगको सहयोगमा स्वास्थ्य चौकीको भवन निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाका इन्जिनियर अतीत खनालका अनुसार राष्ट्रिय योजना आयोगको १ करोड ८ लाख रुपैयाँको बजेटमा स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको जिम्मा माता वाराही इन्जिनियरिङ प्रालिले पाएको छ । गएको भदौमा योजना संझौता गरेको निर्माण कम्पनीले असारमसान्तभित्र भवन निर्माण कार्य सक्नुपर्नेछ ।
वर्थिङ सेन्टरसहित ३ रोपनी जग्गामा बन्न लागेको ६ कोठे स्वास्थ्य चौकी भवन निर्माण भएसंगै पाचोकका साथै दूधपोखरी ६ का नागरिकलाई समेत स्वास्थ्य सेवा लिन सहज हुने गाउँपालिकका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङ, वडा अधयक्ष फत्तबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।