आज:  | Tue, 26, Oct, 2021

व्यवसायिक तरकारी खेतीमा रम्दै गोविन्द नेपाली !

रेडियो भोटेओडार २८ जेष्ठ २०७८, शुक्रबार १८:०५ मा प्रकाशित ( ४ महिना अघि) ११००५ पाठक संख्या

श्यामशितल परियार
परिवारको सुख-खुशीको सपना मुटुभरी साँचेर । मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै छन् । हुन्छन् । आजभन्दा आठ वर्षअघि विदेश पस्नको लहरमा मिसिनुभएको थियो, गोविन्द नेपाली पनि ।
गाउँघर, मेलापात, ज्याला-मजदूरी गरेर घर-परिवारको दैनिकी टार्न । छोराछोरीलाई पढाउन सकस भयो । घर-व्यवहारले च्याप्दै लग्यो, दोर्दी गाउँपालिका-१, भारते एक्लेखेतका गोविन्दलाई ।
परिवारको मुहारमा खुशी ल्याउने चाहका साथ उहाँ परदेश लाग्नुभयो । वैदेशिक रोजगारीको क्रममा उहाँ खाडीमुलक कतार पुग्नुभएको हो । १७ महिना उहाँले यतै जागिरे जीवन बिताउनुभयो ।
खाडीको चर्को घाम, गाह्रो काम । कमाइ कम । त्यसैले पनि उहाँको मन खाडीमा रम्न, बस्न मानेन । गाउँको चिसो, शितल हावापानी । साथीसंगी, मेलापात, उकाली-ओराली । घरपरिवारको मायाले उहाँलाई गाउँ डाकिरह्यो । विदेशको बसाइ छोड्न कर गरिरह्यो, उहाँको मनले । उहाँले मनको कुरा मान्नुभयो । र विदेश छोडी आफ्नै गाउँ फर्कनुभयो ।
‘विदेशको चर्को घाम बाहिर काम गर्नुपर्ने । कमाई पनि खासै भएन । दुःख धेरै भयो । विदेश बसिरहन मन लागेन,’ गोविन्दले भन्नुभयो, ‘त्यसैले यहाँभन्दा बरु आफ्नै गाम (गाउँ)मा गई हलो, कुटो-कोदालो गर्ने सोचेर विदेश छोडी आफ्नै देश फर्कि आएँ ।’
विदेशमा खासै कमाइ त भएन । तर त्यहाँको बसाइँले उहाँलाई श्रम र समयको महत्व राम्रोसंग बुझाएको थियो । विदेशले सिकाएको पाठलाई गाउँ फर्कने बित्तिक्कै व्यवहारमा उतार्नुभयो, उहाँले ।
र त गाउँ आउने बित्तिक्कै उहाँले एक्लेखेतमा २ वटा बाँसको टनेल बनाई व्यवसायिक तरकारी खेती सुरु गरिहाल्नुभयो ।
आफ्नो २ रोपनी र ३ रोपनी जग्गा बन्धकीमा लिई ५ रोपनी जग्गामा तरकारी खेती सुरु गर्नुभएको हो ।
५ रोपनी जग्गामा काउली, बन्दा, मटरकोसा, गाँजर, धनियाँ, गोलभेँडा लगाउनुभयो । पहिलो वर्ष नै उत्पादन राम्रो भयो । उत्पादन बिक्रीबाट राम्रै कमाइ हात पर्यो ।
विदेशको कमाइले घरखर्च चलाउन धौ-धौ थियो । तर घरदेशमै गरेको उद्यमले परिवारको गर्जो टार्न सहज भएको महसुस भयो, उहाँलाई । त्यसपछि, तरकारी खेतीलाई नै अघि बढाउने योजना बनाउनुभयो, उहाँले ।
सुृरुकै वर्ष उहाँले उत्पादन बिक्रीबाट ७० हजार रुपैयाँ आर्जन गर्न सफल हुनुभयो ।
‘तरकारी खेतीका लागि साविक जिल्ला कृषि विकास कार्यालय, लमजुङबाट ६० हजार रुपैयाँ र प्लाष्टिक टनेल अनुदानमा पनि पाएँ,’ उहाँले भन्नुभयो, ‘झनै तरकारी खेतीमा लाग्ने हौसला मिल्यो मलाई ।’
दुःख गर्न सके तरकारी खेतीबाटै राम्रो कमाउन सकिने, गुजारा चलाउन सकिने उहाँलाई लाग्यो । त्यसैले उहाँ अहिले पनि यसै खेतीमा निरन्तर लागिरहनुभएको छ ।
उहाँले गाउँमा मात्र होईन अहिले सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्नुभएको छ ।
यहाँ ५ वटा टनेल बनाइ उहाँले बन्दा, काँक्रो, घिरौँला, करेला, मुला, साग लगाउनुभएको छ ।
उत्पादन सुरु हुन लागेको छ । यहाँको उत्पादन बिक्रीबाट ४०-५० हजार रुपैयाँ आम्दानी हुने उहाँ बताउनुहुन्छ । तरकारी खेतीमा उहाँ आफैँ खटिनुहुन्छ । तरकारी खेतीमा उहाँलाई घर-परिवारको पनि साथ-सहयोग मिलिरहेको छ ।
उहाँको उत्पादन नजिकै रहेको भोटेओडार, बगैँचा, सिउँडीबार, बेसीशहर लगायतका ठाउँमा खपत हुँदै आएको छ । उत्पादन डोकोमा बोकेर उहाँ आफैँ बजार पुग्नुहुन्छ । उत्पादन स्थानीयस्तरमै छोप हुन्छ ।
‘गाउँको उत्पादन राम्रो हुन्छ । ताजा हुन्छ । त्यसैले पनि उत्पादन राम्रो मूल्यमा बिक्री भइरहेको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो, ‘उत्पादन नबिक्ला भन्नु परेको छैन ।’
उहाँले धान, मकैका साथै मौसमी तथा बमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । ‘बेमौसमी तरकारी उत्पादन गर्न दुःख हुन्छ । तर उत्पादन राम्रो मूल्यमा बिक्छ । बेमौसमी तरकारी खेतीमा फाइदा हुन्छ,’ उहाँले भन्नुभयो ।
निरन्तर तरकारी खेतीमा लागेको ८ वर्ष भइसक्यो, उहाँको । आवश्यक ज्ञान, सीप लिएर सिँचाईको सुविधा भएको उपयुक्त जग्गामा उचित मल बीउको छनौट गरी तरकारी खेती गरेमा फाइदा हुने उहाँ बताउनुहुन्छ ।
तरकारी खेतीबाट मात्रै वार्षिक एक लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ ।
अहिले स्वदेशकै उद्यमको कमाइमा उहाँ रमाउनुभएको छ । यसैमा खुशी मिलेको छ, उहाँलाई । ‘तरकारी खेतीबाटै परिवारको गर्जो टार्न पनि सहज भएको छ । ‘तरकारी खेतीलाई थप विस्तार गर्दै लैजाने योजना छ,’ उहाँले भन्नुभयो ।


FLASH NEWS