आज:  | Sat, 30, Sep, 2023

दोर्दी गाउँपालिकाद्धारा भेडा वितरण : किसानको आयस्तर वृद्धि गर्ने उद्धेश्य

रेडियो भोटेओडार २५ असार २०७८, शुक्रबार १५:५६ मा प्रकाशित ( २ साल अघि) ३४७१४ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिकाले सामुहिक घुम्ती गोठलाई एक सय पाँच वटा भेँडा प्रदान गरेको छ ।
गाउँपालिकाले ढोडेनी (भेडा पकेट क्षेत्र)मा रहेको जुमगढी भेडापालन समितिलाई लागत साझेदारीमा एक सय भेडा र पाँच वटा थुम्बा (साँड) प्रदान गरेको हो ।

भेडाको संख्या वृद्धि, ऊन, मासु उत्पादन वृद्धि, भेडामा नश्ल सुधारका साथै घरगाउँमै रोजगारी सिर्जना गरी किसानको आयस्तरमा वृद्धि गरी उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यले सामुहिक घुम्ती गोठलाई भेडा वितरण गरिएको पशु सेवा शाखा, दोर्दी गाउँपालिकाका प्रमुख शंकर पन्थीले जानकारी दिनुभयो ।

भेडापालन व्यवसायलाई थप विस्तार र व्यवसायिक बनाउन गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले किसानलाई आग्रह गर्नुभएको छ ।
घुम्ती गोठ संरक्षणका साथै भेडाबाख्रापालनका क्षेत्रमा गाउँपालिकालको किसानलाई सघाउँदै आएको पनि उहाँले बताउनुभयो ।

जुमगढी भेडापालन समितिमा स्थानीय पचास जना भेडापालक किसान आवद्ध छन् । यस समितिले सामुहिक रुपमा झण्डै दुई हजार पाँच सय हाराहारीमा भेडा पालिएका छन् ।

पन्थीका अनुसार संघीय सरकारको सहयोगमा दोर्दी गाउँपालिका–६, ढोडेनीलाई भेडा पकेट क्षेत्र र दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङलाई बाख्रा पकेट क्षेत्र घोषणा गरिएको छ । यस क्षेत्रमा विभिन्न सहयोगका कार्यक्रम संचालन हुँदै आएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा यस भेडा पकेट क्षेत्रका लागि नौ लाख नब्बे हजार र बाख्रा पकेट क्षेत्रका लागि पन्ध्र लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बाख्रामा नश्ल सुधारका लागि श्रीमन्ज्याङ बाख्रापालन समितिलाई यसैवर्ष पाँच वटा शुद्ध बोयर जातको बोका वितरण गरिएको छ ।

यस समितिमा पचास जना किसान आवद्ध छन् । बोयर, बिटल, जमुनापारी, खरी जातका गरी झण्डै तीन हजार हाराहारीमा बाख्रा पालिएका छन् ।


FLASH NEWS