श्यामशितल परियार
लमजुङका विभिन्न जलविद्युत आयोजनामा बाढी–पहिरोबाट २ अर्व बढिको नोक्सानी भएको छ । लमजुङको दोर्दी खोला, मस्र्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत आयोजनामा गरी बाढी पहिरोबाट २ अर्व ७१ करोडको क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले जानकारी दिनुभयो ।
यस्तै, दोर्दीे खोलामै रहेका ५ वटा झोलुङे पुलमा क्षति पुगेको छ । ‘गएको जेठ ३१ गतेबाट बाढी पहिरोका कारण हालसम्म जिल्लामा थुप्रै नोक्सानी भएको छ,’ प्रमुख जिल्ला अधिकारी लुइटेलले अघि भन्नुभयो, ‘दोर्दी खोलामा रहेका एउटा झोलुङे पुल बगाएको छ । अन्य झोलुङे पुल जोखिममा रहेका छन् । कुनै झोलुङे पुलको एकपट्टी त कुनैको अर्को पट्टीको भाग बगाएको छ ।’
बाढीले दोर्दी गाउँपालिकास्थित हिलेबजारका १९ घर, मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेका ३ घर बगाइसकेको, अन्य ठाउँका घरहरुमा पनि क्षति पुगेको र कतिपय ठाउँका बस्ती नै जोखिममा रहेका जिल्ला प्रशासन कार्यालय, लमजुङले जनाएको छ । ‘नागरिकको घरदैलोमा पुगेर अहिले हामी राहत तथा उद्धार कार्यमा जुटिरहेका छौँ,’ प्रजिअ लुइटेलले भन्नुभयो, ‘यसमा गाउँपालिका, नगरपालिकाको पनि समन्वय छ । ठूलो भूमिका छ ।’
विस्थापितहरुको पुनस्र्थापना आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी तथ्यांक संकलनमा पनि जुटिरहेका छौँ । त्यसपछि, प्रदेश सरकार, संघ सरकार साथै अन्य सम्वन्धित निकायलाई अनुरोध गरी पुनर्निर्माणका कार्य गरिनेछ ।’
‘जोखिममा रहेका बस्तीका साथै सार्वजनिक संरचना संरक्षणका लागि अहिले दोर्दीमा तटवन्धनका लागि नेपाली सेना खटिएको छ,’ उहाँले भन्नुभयो ।