आज:  | Sat, 30, Sep, 2023

जिल्ला अस्पताल लमजुङबाट १ करोड बढिको निःशुल्क स्वास्थ्य सेवा प्रदान 

रेडियो भोटेओडार २२ श्रावण २०७८, शुक्रबार १२:२९ मा प्रकाशित ( २ साल अघि) १७०३२ पाठक संख्या

श्यामशितल परियार

जिल्ला अस्पताल लमजुङले एक वर्षको अवधीमा ६ हजार बढिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा अस्पतालले ३ हजार ९ सय ४९ महिला, २ हजार ९ सय १६ पुरुष गरी ६ हजार ८ सय ६५ जनालाई विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालबाट गतवर्ष १ करोड ६ लाख २२ हजार १ सय ६६ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा प्रवाह भएको उहाँले उल्लेख गर्नुभयो ।

आर्थिक अवस्था कमजोर रहेका गरिव, अति गरिव, अशक्त, अपांग, वृद्धवृद्धाहरुलाई बर्सेनी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान हुँदै आएको उहाँले बताउनुभयो ।

यस्तै, गतवर्ष अस्पतालबाट ४० हजार २ सय ७१ जनाले बहिरंग सेवा लिएका छन् । ३ हजार ९ सय ३५ जनाले भने अन्तरंग सेवा लिएका छन् ।

अस्पतालमा कोभिड आई.सि.यु संचालन, छुट्टै आईशोलेसनको कक्षको व्यवस्था, वैज्ञानिक विधीबाट फोहोर व्यवस्थापन, पि.सि.आर ल्याव संचालन, डाईलेसिस सेवा संचालन, टेलि हेल्थ सेवा संचालन, लेप्रोस्कोपिक मेसिनद्धारा शल्यक्रिया सेवा संचालन गर्ने लगायतका अस्पतालको विभिन्न भावी योजना रहेको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश र मानव विकास तथा सामुदायिक सेवा (एजडीसिएस) बीच संझौता भई यस अस्पताल संचालित छ ।

यस अस्पतालमा लमजुङसहित छिमेकी जिल्ला मनाङ, तनहुँ, गोरखा लगायतका विभिन्न ठाउँबाट पनि बिरामी उपचारका लागि आउने गर्दछन् ।

 

 


FLASH NEWS