लमजुङको दोर्दी गाउँपालिका–८ हिलेबजार र खिन्चोक बेसीका बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयको सहयोगमा लमजुङ शाखाले हिलेबजारका २४ घर र खिन्चोकका ६ घर गरी ३० घरधुरीलाई प्रति घरधुरी नगद १५ हजार रुपैयाँ वितरण गरिएको रेडक्रस, लमजुङका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो । बाढी प्रभावतिहरुको उद्धार, राहतमा गाउँपालिकासंगै अन्य विभिन्न संघसंस्थाले पनि सघाउँदै आएका छन् ।
दोर्दीे गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरूङले मनसुनको सुरुवातसंगै आएको बाढीले यस क्षेत्रमा निकै क्षति पुर्याएको उल्लेख गर्दै प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेकोमा रेडक्रसप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
अस्थायी आवास निर्माणका लागि आर्थिक सहयोग पाउँदा प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । बाढीका कारण यस क्षेत्रका घरबस्तीका साथै विभिन्न जलविद्युत आयोजनामा समेत ठूलो भौतिक क्षति भएको थियो ।