पछिल्लो समय परम्परागत कतुवा जनैको प्रयोग भने हराउँदै गएको छ । बजारमा पाइने जनैको प्रयोग बढ्नुका साथै गाउँघरमै कतुवा जनै बनाउने र लगाउने परम्परा कम भएसंगै परम्परागत कतुवा जनै हराउँदै गएको हो ।
विगत केही वर्ष अघि जनैपूर्णिमा आउनु एक महिना अगावै ब्राह्मण, क्षेत्रीका घरमा जनै कात्ने चटारो हुनेमा पछिल्लो समय कतुवा जनै बनाउने परम्परा गाउँघरबाटै हराउँदै जान थालेको लमजुङ सुन्दरबजार नगरपालिका–७, का चन्द्रप्रकाश पोख्रेलले बताउनुभयो ।
कतिपय पुराना पुस्ताले अझै पनि कतुवा जनैको निर्माण र प्रयोगलाईे निरन्तरता दिदैँ आएका छन् ।
पाको पुस्ताका अनुसार जनैको धागो कात्ने कतुवा काठ, ढुंगावाट बनाउन सकिन्छ । ढुंगा अथवा काठको सानो चक्कालाई बिचमा छेडी त्यसमा बाँसको सानो सरो राखिन्छ । त्यसैमा काँचो धागोलाई तेब्बर कातिन्छ । बल्ल कतुवा जनै बन्छ ।
जत्ति कतुवाको सरो लामो भयो, उत्ति नै धागो लामो धागो कात्न सकिन्छ ।
अहिले बजारमा सजिलै जनै किन्न पाईन्छ । तर त्यसको तुलनामा घरमै कतुवामा कातिएको जनै बलियो हुनुका साथै धार्मिक हिसाबले शुद्ध पनि हुने उहाँले बताउनुभयो ।