गण्डकी प्रदेश सरकारले पाठेघर, स्तन क्यान्सर भएका महिलाहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङले बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले स्वास्थ्य परीक्षण गरी पाठेघर, स्तन क्यान्सर भएका महिलाहरुलाई सम्वन्धित ठाउँमा निःशुल्क स्वास्थ्य उपचार गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय, लमजुङमा शुक्रबार आयोजित ‘अल्ट्रा साउण्ड मेशिन’ हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘पाठेघर र स्तन क्यान्सरबाट ज्यान गुमाउने महिलाको संख्या बढ्दो छ,’ मन्त्री अधिकारीले भन्नुभयो, ‘रोगै पत्ता नलगाई, उपचार नै नपाइ ज्यान गुमाउने महिलाको दर बढेकाले त्यस्ता समस्या भएका महिलाहरुलाई स्वास्थ्य परिक्षण गरी रोग पत्ता लागिसकेपछि सम्वन्धित ठाउँमा निःशुल्क उपचार गराउने मन्त्रालय निर्णय गरेको छ ।’
यसलाई अहिलेको स्वास्थ्य नीतिमा ‘ड्राफ्ट’ गरिएको पनि उहाँले बताउनुभयो ।
यस्तै, प्रदेशका थुप्रै अस्पतालहरुको सुदृढिकरण गर्नुपर्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमकै अवसरमा मन्त्री अधिकारीले दोर्दी गाउँपालिकालाई ‘अल्टा« साउण्ड मेशिन’ प्रदान गर्नुभएको छ ।
मन्त्री गुरुङले ११ लाख ३७ हजार मूल्य बराबरको ‘पोर्टएवल अल्टा« साउण्ड मेशिन’ गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङलाई प्रदान गर्नुभएको हो ।