श्यामशितल परियार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशभित्र रहेका सामुदायिक कलेजहरुको स्तरोन्नती गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तनहुँको भानु नगरपालिका ११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पसको २३ औँ वार्षिकोत्सव तथा अभिभावक सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा ८७ वटा सामुदायिक कलेज रहेको बताउँदै यी शैक्षिक संस्थाहरुको समग्र पक्षको विकासका लागि प्रदेश सरकारले सघाउने उल्लेख गर्नुभयो ।
यस्तै, शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्वन्धित सबै पक्ष जुट्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
अधुरा अपुरा रहेका विकास निर्माणका कामलाई पनि प्रदेश सरकारले तीव्रता दिने उहाँले बताउनुभएको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख रविन्द्रराज जोशीले प्रस्तुत गर्नुभएको हो ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष रामबहादुर ढुंगानाले स्वागत गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोबाटे विश्वकर्मा, भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली, भानु नगरपालिका ११ का वडाअध्यक्ष तारानरेश पौडेल लगायतले बोल्नुभएका क्याम्पसका सहायक प्राध्यपक ईश्वर बोहोराले जानकारी दिनुभयो । कार्यक्रमको संचालन क्याम्पसका सहायक प्राध्यपक हिरामणि ढुंगानाले गर्नुभएको हो ।
बोहोराका अनुसार २०५६ सालमा स्थापना भएको यस क्याम्पसमा शिक्षा शास्त्र संकायको अध्यापन हुँदै आएको छ । यस क्याम्पसमा लमजुङ, तनहुँ, गोरखा, कास्की लगायतका ठाउँबाट विद्यार्थीहरु अध्यापनका लागि आउने गरेको क्याम्पसका सहायक प्राध्यापक बोहोराले बताउनुभयो । उहाँका अनुसार हाल यस क्याम्पसमा ३ सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।