आज:  | Sat, 30, Sep, 2023

लमजुङमा नाट्य क्षेत्र फस्टाउँदै

रेडियो भोटेओडार २२ मंसिर २०७८, बुधबार १५:१६ मा प्रकाशित ( १ साल अघि) २८१६२ पाठक संख्या

श्यामशितल परियार
पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ । जिल्लामा नाट्य क्षेत्रमा क्रियाशिल मन्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ ।
संस्थाले जिल्लाका विभिन्न विद्यालयसम्म पुगी नाटकको महत्व बुझाउनुका साथै विभिन्न समयमा प्रदर्शन हुने नाटकमा नवप्रतिभालाई स्थान दिएसंगै यसप्रति आकर्षण बढ्दै गएको हो ।
जिल्लामा रहेका नाट्यकर्मीका साथै नवप्रतिभाहरुको क्षमता विकासका लागि विभिन्न समयमा केन्द्र, प्रदेशबाट रंगकर्मी ल्याएर तालिम, प्रशिक्षण समेत दिने गरिएको छ ।
बिस्तारै नाट्य क्षेत्रको महत्व बुझ्नुका साथै मेहनत गरी नाट्य क्षेत्रमा रम्न, जम्न सके यसैबाट पहिचान बनाउनुका साथै यसैमा भविष्यको सम्भावना देखेर पनि जिल्लामा यस क्षेत्रमा लाग्न चाहनेको जमात बिस्तारै बढ्दै गएको मन्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।
यसअघि मन्जरी नाट्य समूहको सक्रियतामा प्रदर्शन गरिएको नाटक ‘पानीघट्ट’ र ‘फड्के’ले धेरैको मन जितेको थियो ।
नेपाली रंगमन्चमा तुलनात्मक रुपमा महिलाको संख्या न्यून रहेको रंगकर्मी बताउँछन् । तर लमजुङमा भने नाट्य क्षेत्रमा महिलाको संख्या र आकर्षण निकै राम्रो छ । नाट्य गतिविधिमा महिलाको संख्या बढ्नु सकारात्मक पक्ष रहेको कतिपय रंगकर्मी बताउँछन् ।
‘यस क्षेत्रमा महिलाको संख्या तुलनात्मक रुपमा कम देखिन्छ । तर लमजुङमा भने महिलाको सहभागिता राम्रो देखिन्छ,’ मण्डला थियटरका विद्यार्थी एवं नाटक सहजकर्ता शिव परियारले भन्नुभयो, ‘यो राम्रो पक्ष हो । यहाँ नाटकको फस्टाउँदै गएको छ ।’
विगतमा केन्द्रमै सीमितप्राय ः नाट्य क्षेत्र अहिले भने जिल्ला÷जिल्लामा विस्तार भएको छ ।
लमजुङमा मात्र नभई पछिल्लो समय गण्डकी प्रदेशमै नाट्य क्षेत्र सुनौलो भएर अघि बढेको पोखरा थियटरका क्रियटिभ डाइरेक्टर परिवर्तनको भनाइ छ ।
अबको केही वर्षमै हरेक जिल्लामा नाटक घर र नाट्य संस्था खुल्ने र नाट्य गतिविधि संचालन हुनेमा उहाँ आशावादी हुनुहुन्छ ।
‘गण्डकी प्रदेशमै अहिले नाट्य क्षेत्र सुनौलो भएर गएको छ,’ उहाँले भन्नुभयो ।


FLASH NEWS