Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

परालको गुन्द्री बुन्ने परम्परा हराउँदै

रेडियो भोटेओडार ५ पुष २०७८, सोमबार ११:४० मा प्रकाशित ( २ साल अघि) ३०५९८ पाठक संख्या

श्यामशितल परियार
पछिल्लो समय गाउँघरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लाष्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसंगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।
विगतमा विशेषगरी ः पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको लमजुङ सुन्दरबजार नगरपालिका ६ की सन्तुमाया बुढाप्रिथीले बताउनुभयो ।
‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हराउँदै गएको छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार हिन्दु संस्कारमा चोखो/निधो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ । ‘चोखो निधोमा परालको गुन्द्री नभई हुँदैन,’ उहाँले भन्नुभयो, ‘साथमा पैसा भए अहिले बजारमा सजिलै प्लाष्टिकका गुन्द्री पाइन्छ । त्यही किन्छन् । प्रयोग गर्छन् । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन त हराउँदै गएको छ ।’
सन्तुमायाका अनुसार घर नजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेस्र्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ । सर्लक्क परेका लामो परालको घान हाली दायाँबायाँ हातैले बिट मारिन्छ । अनि हतासोले ठोकिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने उहाँले बताउनुभयो ।
पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो ।
तर अहिले परालको गुन्द्रीको सट्टामा प्लाष्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ ।
नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या निकै कम छ ।
आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसंग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख लाग्छ । यसको संरक्षण गर्नु जरुरी छ ।


FLASH NEWS