नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धनबीच मोर्चाबन्दी हुने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादी, जिल्ला कमिटि लमजुङद्धारा शनिबार बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
‘राष्ट्रिय सभाको चुनावमा अहिले सरकारमा रहेका पाँच दलीय गठबन्धन संगसंगै मोर्चाबन्दी गर्न गइरहेका छौँ,’ उहाँले भन्नुभयो ।
‘प्रचार गरिएको छ, चुनावमा एक्लै त आऊ । म सोध्न चाहन्छु, २०७४ सालमा एक्लै गएका थिए, ओली जी । किन गए प्रचण्ड जी को शरणमा ?’, एमाले अध्यक्ष ओलीप्रति इंगित गर्दै उहाँले भन्नुभयो, ‘हिजो उनले गर्दा ठीक आज हामीले मिलाउँदा बेठीक हुन्छ ? यस्तो कुप्रचारलाई खण्डन गर्नुस् । चिर्नुस् ।’
यस्तै, उहाँले भविष्य नेकपा एकीकृत समाजवादी रहेको बताउँदै अरु भविष्य अन्धकारमय भइसकेको समेत उल्लेख गर्नुभयो ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेकपा एकीकृत समाजवादी नै सच्चा कम्युष्टि पार्टी रहेको उहाँले दाबी गर्नुभयो ।
लमजुङको विकास निर्माण र लमजुङे जनताको सुख–दुःखमा आफु र आफ्नो पार्टी सदैव साथमै रहने विश्वास दिलाउनुभएको छ ।
नेकपा एसका जिल्ला अध्यक्ष रामबाबु अधिकारीको अध्यक्षतामा संचालन भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ लगायतका संघ, प्रदेश र जिल्ला स्तरका नेताहरुले मन्तव्य राख्नुभएको थियो ।