आज:  | Sat, 30, Sep, 2023

लमजुङको दोर्दी गाउँपालिकाको १० औँ हिउँदे गाउँ सभा सम्पन्न

रेडियो भोटेओडार १८ पुष २०७८, आईतवार १७:५८ मा प्रकाशित ( १ साल अघि) १४५७५ पाठक संख्या

चाँदनि अधिकारी
लमजुङको दोर्दी गाउँपालिकाको १० औँ हिउँदे गाउँ सभा सम्पन्न भएको छ । दोर्दी गाउँपालिका ४ नौथर शेरास्थित गाउँपालिकाको सभाहलमा आइतबार हिउँदे गाउँ सभा सम्पन्न भएको हो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा गाउँसभा भएको हो ।
हिउँदे गाउँसभामा दोर्दी गाउँपालिकाका अध्यक्ष गुरुङले गतवर्षको गाउँपालिकाको प्रगति प्रतिवेदनका साथै चालु आर्थिक वर्षको हालसम्ममा पालिकाले संचालन गर्दै आएका नीति, योजना तथा कार्यक्रमका विषयमा जानकारी गराउनुभएको हो ।
चालु आर्थिक वर्षमा दोर्दी गाउँपालिकाले ५० करोड ९६ लाख १२ हजार रुपैयाँको बजेटभित्र रही विभिन्न योजना, कार्यक्रम संचालन हुँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुङले चालु आर्थिक वर्षमा पूर्वाधारतर्फका करिव १ सय ५० वटा योजनामध्ये हालसम्म कुल ५५ वटा योजनाहरुको संझौता सम्पन्न भएको र ५ वटा योजना सम्पन्न भइसकेका बताउनुभयो ।
गाउँपालिकामा आयआर्जन, विपद्, विपन्न नागरिक उपचार सहयोग, सशक्तिकरण, कला, साहित्य, फोहोरमैला व्यवस्थापन क्षेत्रतर्फका केही कार्यक्रमहरु सम्पन्न भइसकेका उहाँले बताउनुभयो ।
गाउँपालिकाले, कृषि, पशुपालन, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा उद्यमशीलता लगायतका क्षेत्रमा पनि विभिन्न योजना, कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।
दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, जिल्ला समन्वय समिति, लमजुङका सदस्य लालबहादुर गुरुङ, वडाअध्यक्ष प्रेमबहादुर गुरुङ, कार्यपालिका सदस्य हिमला घिमिरे, वडासदस्य तुलमाया तामाङ लगायतले शुभकामना मन्तव्य राख्दै समयमै प्रभावकारी रुपमा विभिन्न योजना, कार्यक्रम संचालन सम्पन्न गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको संचालन दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले गर्नुभएको हो ।

 

 


FLASH NEWS