लमजुङको राइनास नगरपालिका–८, कुसुण्डेचौरमा राइनास बुहप्राविधिक शिक्षालयको शैक्षिक भवन निर्माणको शिलान्यास तथा जग पूजा गरिएको छ । राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले आइतबार शिक्षालयको शैक्षिक भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै उहाँले यस शिक्षालय राइनास नगरक्षेत्रको गहना रहेको बताउनुभएको छ । अहिलेको युगमा साधारण शिक्षा नभई विश्वबजारमा बिक्न सक्ने प्राविधिक शिक्षाको खाँचो रहेको उहाँले बताउनुभयो ।
यसैगरी, नगरप्रमुख थापाले शिक्षालयको भवन निर्माण सकिएसंगै सबै संकायको पढाइ हुने बताउनुभएको छ । शिक्षालयको श्रीवृद्धिमा सबैको साथ, सहयोग मिलेको उहाँले बताउनुभयो ।
संघ सरकारको ४ करोड ३३ लाखको लागतमा कुसुण्डेचौरमा ५६ रोपनी जग्गामा ३२ कोठे शिक्षालयको भवन निर्माण हुने शिक्षालयका प्रमुख इश्वरीचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माणको जिम्मा पृथ्वी बिसी जेभी काठमाडौँले पाएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्मा भवन निर्माण कार्य सक्ने लक्ष्य लिइएको छ । सिटिइभिटीको आंगिक क्याम्पसको रुपमा रहेको यस शिक्षालय २०७७ सालमा स्थापना भएको हो । शिक्षालयले प्रमाणपत्र तह ३ वर्षे वन विज्ञान र कृषि बाली विज्ञान कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
शिक्षालयले राइनास नगरपालिका ८ तार्कुघाटमा रहेको वीर भक्ति माविमा आफ्नो शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ । हाल यस शिक्षालयमा देशभरका गरी १ सय ३८ जना अध्ययनरत रहेका छन् ।
देवकोटाले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमाले वडा कमिटिका अध्यक्ष कृष्ण रानाभाट, नेपाली कांग्रेसका वडा सभापति दिनेशचन्द्र घिमिरे, वडाअध्यक्ष कृष्णप्रसाद लामिछाने, कार्यपालिका सदस्य विष्णुमाया धिताल, वीरभक्ति माविका प्रअ नुरमहम्मद मिया, सर्वोदय आश्रमका अध्यक्ष कृष्णराज ओलिया, शिक्षालय संचालक समिति सदस्य जगदीशराज पाण्डे लगायतले बोल्नुभएको हो ।
कार्यक्रमको संचालन शिक्षालयका लेखा तथा प्रशासकीय अधिकृत जीवननाथ देवकोटाले गर्नुभएको हो ।